६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

दसैँअघि बाढीपहिरोले अवरुद्ध मुख्य सडक खुलाउने सरकारको तयारी


काठमाडौँ — दसैँ नजिकिँदै गर्दा बाढीपहिरोका कारण अवरुद्ध भएका मुख्य सडक तथा राजमार्ग मर्मत गरी चाडपर्वअघि नै यातायात सञ्चालनमा ल्याउने तयारी सरकारले तीव्र बनाएको छ।

सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार प्राकृतिक विपद्बाट क्षति पुगेका सडक तथा राजमार्गको मर्मत कार्य तीव्र रूपमा भइरहेको छ। मुख्य राजमार्गहरूलाई दसैँअघि नै सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले बताए।

उनका अनुसार भोटेकोशी बाढीबाट प्रभावित रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका सडकखण्डमा पनि मर्मत तथा पुनःनिर्माणको काम अघि बढाइएको छ। आगामी चारदेखि पाँच दिनभित्र रसुवाको धुन्चेसम्म यातायात सञ्चालन गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

मुस्ताङतर्फ अवरुद्ध सडक पनि छिट्टै सञ्चालनमा आउने विभागको भनाइ छ। सडकको अवस्थाका कारण केही स्थानमा यात्रा असहज भए पनि उपत्यकाबाट घर जाने यात्रु तथा खाद्यान्न र अत्यावश्यक सामग्रीको ढुवानी पूर्ण रूपमा रोकिने अवस्था नआउने न्यौपानेले बताए।

नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार भदौ १० गतेको भोटेकोशी बाढीका कारण बागमती प्रदेशको रसुवाका प्रमुख सडकखण्डहरू प्रभावित छन्। गण्डकी प्रदेशको म्याग्दीस्थित बेनी–जोमसोम सडकखण्ड पनि असोज १० गतेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ।

यसैगरी, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका–३ स्थित जन्ती पहिरो क्षेत्रमा कालीगण्डकी करिडोर असोज १४ गतेदेखि प्रभावित भए पनि हाल एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ। तर उक्त सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न अझै कठिन रहेको प्रहरीले जनाएको छ।

मनाङमा असोज १८ गतेको बाढीबाट प्रभावित बेँसीसहर–खाङ्सार सडकखण्ड पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ। बाँकी अवरुद्ध सडकलाई पनि सकेसम्म छिटो पूर्ण रूपमा सञ्चालनमा ल्याउन सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार