काठमाडौँ — नेपाल राष्ट्र बैंकले दसैँ लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएममार्फत १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।
राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधिका एटीएमबाट १०० रुपैयाँका नोट वितरण सुरु गरेका छन्।
राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटलाई लिएर अनावश्यक प्रचार नगरी चाडपर्वका लागि आवश्यक सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको बताए।
उनका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट वितरण भइरहेको छ।
प्रवक्ता पौडेलले पछिल्ला चार–पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका नाममा ठूलो परिमाणमा नयाँ नोट बजारमा पठाउने परिपाटीलाई क्रमशः घटाउँदै लगेको बताए। उनका अनुसार नोट सटही नियमित प्रक्रियाअन्तर्गत हुने भएकाले त्यसलाई चाडपर्वसँग मात्र जोडेर प्रचार गर्नु आवश्यक छैन।
गत भदौ ३१ गतेसम्म मुलुकमा चलनचल्तीमा रहेको मुद्रा अर्थात् ‘करेन्सी इन सर्कुलेसन’ करिब ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। दसैँको समयमा उक्त रकममा करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुन सक्ने राष्ट्र बैंकको अनुमान छ।
यस वर्ष चाडपर्वका बेला नयाँ नोटको माग व्यवस्थापन गर्न एटीएममार्फत १०० रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था समेत गरिएको राष्ट्र बैंकले जनाएको छ।