६ कार्तिक २०८३, बिहीबार Thursday, October 22, 2026

मुस्ताङमा पाँच सय कन्टेनर सडकमै रोकिए, दसैँका सामान ढुवानी प्रभावित


मुस्ताङ- मुस्ताङको लेतेदेखि कोरला नाकासम्म करिब पाँच सय कन्टेनर सडकमा लामबद्ध अवस्थामा रोकिएका छन्। असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र हिमपातका कारण सडक अवरुद्ध भएपछि ती कन्टेनर एक सातादेखि जिल्लाका विभिन्न स्थानमा रोकिएका हुन्।

भारी वर्षापछि म्याग्दीको पोखरेबगर, कुनौटे, बैसरीलगायतका स्थानमा सडक अवरुद्ध भएपछि अहिले मर्मत तथा पुनःसञ्चालनको काम भइरहेको छ। सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै करिब एक साता लाग्ने सडक आयोजनाका प्राविधिकहरूले बताएका छन्।

बेनी–जोमसोम सडक अवरुद्ध रहेकाले ७० भन्दा बढी कन्टेनर र एक सयभन्दा बढी विद्युतीय सवारीसाधन जोमसोमस्थित बसपार्कमा रोकिएका छन्।

यता, बेनी–जोमसोम सडक अवरुद्ध रहेकै अवस्थामा कोरला नाकाबाट केही मालवस्तु बोकेका कन्टेनर भने जोमसोम ल्याइएको छ। कालीगण्डकी करिडोर सडक आयोजनाले जोमसोम–कोरला सडकखण्डमा अवरुद्ध स्थान मर्मत गरेपछि मुस्ताङ भन्सार क्षेत्रमा रोकिएका केही कन्टेनर जोमसोम ल्याइएको हो।

यसअघि नाका क्षेत्रमा बाढीपहिरोका कारण विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा चीनबाट ल्याइएका सामानको भन्सार जाँचपास हुन सकेको थिएन। त्यसका कारण सयौँ कन्टेनर नाकामै रोकिएका थिए।

म्याग्दी खण्डमा बाढी, पहिरो र नदी कटानका कारण दर्जनौँ स्थानमा विद्युत्का पोलमा क्षति पुगेपछि मुस्ताङमा करिब एक सातादेखि केन्द्रीय ३३ केभी विद्युत् प्रसारण लाइन तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो। विद्युत् र सञ्चार सेवा प्रभावित हुँदा उपल्लो मुस्ताङ भन्सार कार्यालयको नियमित कामसमेत प्रभावित बनेको थियो।

कोरला नाकामा रोकिएका कन्टेनरका चालक गोविन्द गुरुङका अनुसार चीनबाट कोरला नाका हुँदै आयात गरिएका करिब तीन सय कन्टेनर र दुई सयभन्दा बढी विद्युतीय सवारीसाधन भन्सार जाँचपासको प्रतीक्षामा छन्।

दसैँ–तिहार लक्षित गरी चीनबाट आयात गरिएका मालवस्तु समयमै बजारसम्म पुर्‍याउन नसक्दा व्यवसायी र उपभोक्ता दुवै प्रभावित भएका छन्। चाडपर्वका लागि आवश्यक सामग्रीको आपूर्ति ढिलो हुँदा नेपाली बजारको व्यापारिक गतिविधिसमेत प्रभावित भएको व्यवसायीहरूको भनाइ छ।

ताजा समाचार