सर्मिला रोकाया,बाजुरा
स्थानीय उत्पादन छ, बजारको सम्भावना पनि छ, तर प्रशोधन र बजारीकरणको सीप नहुँदा धेरै उत्पादन गाउँमै सीमित हुन्छन्। यही अवस्थालाई बदल्ने उद्देश्यले बाजुराको पिलुचौरमा स्थानीय कृषि तथा पशुजन्य उत्पादनबाट खाद्यवस्तु तयार गरी आयआर्जन र उद्यम विकास गर्न महिला तथा युवालाई अचार बनाउने तालिम सन्चालन गरिएको छ। स्थानीय रूपमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तुलाई प्रशोधन गरी आयआर्जनको स्रोतका रूपमा विकास गर्ने उद्देश्यले बाजुराको पिलुचौरमा महिला तथा युवालाई लक्षित तीनदिने अचार बनाउने तालिम सम्पन्न गरिएको हो।
जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (LI-BIRD) ले UNDP को नेतृत्वमा सञ्चालित Renewable Energy for Resilient Agri-food Systems (RERAS) Project अन्तर्गत असोज १७ देखि १९ गतेसम्म तालिम सञ्चालन गरेको हो। तालिममा बाजुरा र मुगुका पाँच स्थानीय तहका १४ महिला र ३ पुरुष गरी १७ जना कृषक, उत्पादक तथा उद्यमीहरुकाे सहभागिता रहेको थियो।
बाजुराका बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालिका तथा मुगुको खत्याड गाउँपालिकाबाट सहभागीहरू तालिममा आएका थिए। स्थानीय रूपमा उपलब्ध कृषि तथा पशुजन्य उत्पादनलाई प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणमार्फत आयआर्जन तथा उद्यम विकासका अवसर सिर्जना गर्नु तालिमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।
तालिममा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले सैद्धान्तिक ज्ञानसँगै प्रत्यक्ष अभ्यास, समूहगत कार्य र व्यावहारिक प्रदर्शनमार्फत प्रशिक्षण दिनुभएको थियो। सहभागीलाई कच्चा पदार्थ छनोट, खाद्य सरसफाइ तथा स्वच्छता, प्रशोधन र संरक्षण प्रविधि, गुणस्तर नियन्त्रण, प्याकेजिङ, लेबलिङ, लागत गणना, मूल्य निर्धारण तथा बजार व्यवस्थापनबारे जानकारी दिइएको थियो।
`अचारदेखि टोफु र लेमन स्क्वाससम्म´
तालिमको मुख्य आकर्षण स्थानीय रूपमा उपलब्ध कृषि तथा पशुजन्य उत्पादन प्रयोग गरेर विभिन्न खाद्यवस्तु तयार गर्ने व्यावहारिक अभ्यास रहेको थियो। सहभागीहरूले कागती, हरियो खुर्सानी, मुला, कुखुराको मासु, खसीको मासु तथा लसुनबाट विभिन्न प्रकारका अचार तयार गरेका थिए। त्यस्तै, सेतो भटमासबाट प्रोटिनयुक्त टोफु तथा स्थानीय कागतीबाट लेमन स्क्वाससमेत बनाउने अभ्यास गरिएको थियो।
स्थानीय उत्पादनलाई प्रशोधन गरेर नयाँ तथा बजारयोग्य खाद्यवस्तुमा रूपान्तरण गर्न सकिने सम्भावना देखाउनु तालिमको महत्वपूर्ण उपलब्धि भएको आयोजकको भनाइ छ। प्रशोधन तथा संरक्षण प्रविधिको उचित प्रयोगबाट उत्पादनको भण्डारण अवधि बढाउन, उत्पादनपछिको क्षति घटाउन, खाद्यवस्तुको गुणस्तर कायम राख्न र स्थानीय उत्पादनबाट थप आम्दानी लिन सकिने विषयमा समेत सहभागीलाई जानकारी दिइएको थियो।
जगन्नाथ गाउँपालिका–३ मानिकाडाकी जानदेवी बम शाहीले तालिमबाट स्थानीय उत्पादनको प्रयोग गरी खाद्यवस्तु तयार गर्ने व्यावहारिक ज्ञान प्राप्त भएको बताउनुभयो। उहाँका अनुसार अचारसँगै टोफु र लेमन स्क्वास बनाउन सिकेको सीपले आफ्नै समुदायमा सानो व्यवसाय सुरु गर्न वा सञ्चालनमा रहेको व्यवसाय विस्तार गर्न सहयोग पुग्ने विश्वास बढेको छ।
त्यस्तै, हिमाली गाउँपालिका–४ बोर्ताका शेरबहादुर कार्कीले तालिमको व्यावहारिक पक्ष निकै उपयोगी रहेको बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई प्रशोधन गरी बजारमा बिक्री गर्न सकिने सम्भावनाबारे थप आत्मविश्वास बढेको बताउनुभयो।
`सीपसँगै लागत, प्याकेजिङ र बजारीकरणमा जोड´
तालिममा खाद्यवस्तु तयार गर्ने सीपमा मात्र सीमित नरही उद्यम सञ्चालनका आधारभूत पक्षलाई समेत समेटिएको थियो। सहभागीलाई कच्चा पदार्थ, श्रम, प्याकेजिङलगायतका खर्च समेटेर उत्पादन लागत निकाल्ने, त्यसका आधारमा उचित मूल्य निर्धारण गर्ने तथा उत्पादनलाई आकर्षक रूपमा प्याकेजिङ र लेबलिङ गर्ने तरिकाबारे जानकारी दिइएको थियो।
त्यस्तै, गुणस्तर व्यवस्थापन, उत्पादनको प्रस्तुति र सम्भावित बजार पहिचान तथा बजारीकरणका विषयमा समेत छलफल गरिएको थियो। यसले स्थानीय रूपमा उत्पादित कृषि तथा पशुजन्य वस्तुलाई घरायसी उपभोगमा मात्र सीमित नराखी प्रशोधनमार्फत व्यावसायिक उत्पादनमा रूपान्तरण गर्न सकिने सम्भावनातर्फ सहभागीलाई प्रोत्साहित गरेको छ।
`स्थानीय उत्पादनमै उद्यमको सम्भावना´
बाजुरा र मुगुजस्ता हिमाली तथा दुर्गम जिल्लामा कृषि तथा पशुजन्य उत्पादनको प्रशोधन र मूल्य अभिवृद्धिको सम्भावना रहे पनि प्रशोधन प्रविधि, बजार र उद्यमशीलतासम्बन्धी सीपको अभाव चुनौतीका रूपमा रहेको छ। स्थानीय तहमै यस्ता सीपको विकास गर्न सके कृषक तथा उत्पादकले आफ्नै उत्पादनबाट थप मूल्य प्राप्त गर्न सक्ने र महिला तथा युवाका लागि वैकल्पिक रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सकिने सहभागी तथा आयोजकको अपेक्षा छ।
समापन कार्यक्रममा जगन्नाथ गाउँपालिका–१ का वडाध्यक्ष गणेशराज गिरीले स्थानीय कृषि उत्पादनमा आधारित सीप तथा उद्यम विकासका कार्यक्रमले कृषक र स्थानीय समुदायको आयआर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। UNDP/RERAS का क्लस्टर समन्वय विश्लेषक विशाल पौडेलले कृषि उत्पादनलाई प्रशोधन, मूल्य अभिवृद्धि र बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
व्यावहारिक सीपसँगै उत्पादनको गुणस्तर, उचित प्याकेजिङ, लागत गणना र प्रभावकारी बजारीकरणमा ध्यान दिन सके स्थानीय उत्पादनबाट नयाँ आयआर्जनका अवसर सिर्जना गर्न सकिने उहाँको भनाइ थियो। पौडेलले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्न स्थानीय तह, विकास साझेदार, परियोजना र समुदायबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका अध्यक्ष तथा LI-BIRD/RERAS का क्लस्टर संयोजक लोकेशकुमार थापाले तालिमको उद्देश्य अचार बनाउन सिकाउनुमा मात्र सीमित नभई स्थानीय उत्पादनको मूल्य अभिवृद्धि, खाद्य प्रशोधन, गुणस्तर व्यवस्थापन, लागत गणना, प्याकेजिङ र बजारीकरणको समग्र प्रक्रियाबारे सहभागीलाई सक्षम बनाउनु रहेको बताउनुभयो। उहाँले तालिमबाट सिकेको सीपलाई आफ्नै समुदायमा प्रयोग गर्दै स्थानीय कृषि तथा पशुजन्य उत्पादनमा आधारित साना उद्यम विकासका सम्भावना खोज्न सहभागीलाई आग्रह गर्नुभयो।
तीनदिने तालिम सहभागीहरूले सिकेका सीपलाई घरायसी प्रशोधन, समूहमा आधारित उद्यम तथा व्यावसायिक खाद्य उत्पादनमा प्रयोग गर्ने प्रतिबद्धतासहित सम्पन्न गरेका छन्।
`उत्थानशील कृषि–खाद्य प्रणालीतर्फ पहल´
RERAS परियोजनाले कृषि उत्पादनलाई प्रशोधन, भण्डारण, प्याकेजिङ र बजारीकरणसँग जोड्दै स्थानीय कृषि–खाद्य प्रणालीलाई थप उत्थानशील बनाउने अवधारणाअनुसार काम गर्दै आएको छ। UNDP को नेतृत्वमा सञ्चालित RERAS परियोजनामा नर्वे र फिनल्यान्ड सरकारको आर्थिक सहयोग रहेको छ।
परियोजना स्थानीय तह तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC), LI-BIRD, ICIMOD र WFP लगायतका साझेदार संस्थासँगको सहकार्यमा कार्यान्वयन भइरहेको छ। स्थानीय उत्पादनमा आधारित सीप, खाद्य प्रशोधन र उद्यम विकासमा गरिएको लगानीले महिला, युवा, कृषक तथा स्थानीय उद्यमीलाई आफ्नै स्रोत र उत्पादनलाई पौष्टिक, बजारयोग्य तथा आम्दानीमूलक वस्तुमा रूपान्तरण गर्ने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा यस्ता तालिमको माग बढ्दै गएपछि परियोजनाले स्थानीय तहसँग समन्वय गरी आवश्यकता पहिचानका आधारमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। यस्ता कार्यक्रमले स्थानीय मूल्य शृंखला बलियो बनाउने, उत्पादनपछिको क्षति घटाउने, आयआर्जनका स्रोत विविधीकरण गर्ने र बाजुरा तथा मुगुका हिमाली समुदायमा दिगो तथा उत्थानशील कृषि–खाद्य प्रणाली विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ।