४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

ताराखोलाका पहिरोपीडित तीन परिवारलाई एक/एक लाख राहत


बागलुङ — ताराखोला गाउँपालिकाले पहिरोमा परी ज्यान गुमाएका तीन जनाका परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ।

गाउँकार्यपालिकाको निर्णयअनुसार गाउँपालिका अध्यक्ष धनबहादुर विकसहित प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षलगायतको टोली पीडित परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेको हो।

असोज दोस्रो साता गएको पहिरोमा परी ताराखोला गाउँपालिका–५ सिपका ५५ वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीया नरमाया रोका र ताराखोला–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मृत्यु भएको थियो।

गाउँपालिकाका अनुसार बाढीपहिरोका कारण घरबाससँगै सडक, विद्यालय, सार्वजनिक भवन, विद्युत् संरचना र प्रसारण लाइनमा समेत क्षति पुगेको छ। प्रभावित नागरिकको राहत, पुनःस्थापना र क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि गाउँपालिकाले सहयोगको अपिल गरेको छ।

यसैबीच, एनआरएनएले बाढीपहिरो प्रभावितका लागि पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको खाद्यान्न, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सहयोग गरेको गाउँपालिकाले जनाएको छ।

ताजा समाचार