काठमाडौँ -त्रिभुवन विश्वविद्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि ३० अर्ब ८७ करोड ११ लाख ८ हजार रुपैयाँको बजेट पारित गरेको छ। सिनेटबाट पारित बजेट अघिल्लो आर्थिक वर्षको तुलनामा ९.७७ प्रतिशत बढी हो।
कुल बजेटमध्ये ४९.३८ प्रतिशत अर्थात् १५ अर्ब २४ करोड २७ लाख ५ हजार रुपैयाँ विश्वविद्यालयको आन्तरिक स्रोतबाट र ५०.६२ प्रतिशत अर्थात् १५ अर्ब ६२ करोड ८४ लाख ३ हजार रुपैयाँ नेपाल सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ।
बजेटमा साधारण सञ्चालन खर्चका लागि ८६.१४ प्रतिशत र पुँजीगत खर्चका लागि १३.८६ प्रतिशत रकम छुट्याइएको छ। प्राध्यापक तथा कर्मचारीको प्रविधिमैत्री क्षमता विकासका लागि तालिम, सेमिनार तथा गोष्ठीमा २१ करोड ७७ लाख ८९ हजार रुपैयाँ विनियोजन गरिएको छ।
तर, नेपाल सरकारबाट प्राप्त हुने अनुदान अघिल्लो वर्षको तुलनामा ४ अर्ब ९० करोड रुपैयाँले घटेकाले त्रिविले वित्तीय दबाब सामना गर्नुपर्ने देखिएको छ। शिक्षक तथा कर्मचारीको १० प्रतिशत तलब वृद्धि र १० प्रतिशत प्रोत्साहन भत्ता लगायतका दायित्व व्यवस्थापन गर्न मात्रै त्रिविको बजेटमा ८ अर्ब ३१ करोड ७७ लाख ४७ हजार रुपैयाँ अपुग हुने जनाइएको छ।
उक्त रकम उपलब्ध नभए अनिवार्य दायित्वअन्तर्गतका खर्चसमेत व्यवस्थापन गर्न कठिन हुने भन्दै त्रिविले आवश्यक रकमको व्यवस्था गरिदिन कुलपति एवं प्रधानमन्त्रीसमक्ष आग्रह गरेको छ।