४ कार्तिक २०८३, मंगलवार Tuesday, October 20, 2026

घटस्थापनामा चन्दननाथ र भैरवनाथ मन्दिरमा ५२ र ४८ हाते लिंगो ठड्याइयो


जुम्ला – जुम्ला सदरमुकाम खलंगास्थित प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरमा घटस्थापनाको अवसरमा नयाँ लिंगो ठड्याइएको छ। परम्पराअनुसार चन्दननाथ मन्दिरमा ५२ हाते र भैरवनाथ मन्दिरमा ४८ हाते लिंगो राखिएको हो।

हरेक वर्ष घटस्थापनाका दिन लिंगो फेर्ने चलनअनुसार यस वर्ष पनि उक्त परम्परालाई निरन्तरता दिइएको हो। मन्दिरमा लिंगो ठड्याएपछि मात्र स्थानीयवासीले घरघरमा घटस्थापना गरी जमरा राख्ने परम्परा छ।

चन्दननाथ मन्दिरमा ५२ हाते लिंगोसँगै सोही लम्बाइको ध्वजा राख्ने चलन रहेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमर थापाले बताए। वर्षमा ५२ हप्ता हुने भएकाले चन्दननाथ र भैरवनाथले वर्षभरि सबैको रक्षा गरून् भन्ने धार्मिक विश्वासका आधारमा लिंगो ठड्याउने गरिएको उनको भनाइ छ। मन्दिरको माटो घरमा ल्याएर जमरा राख्ने परम्पराले पनि यहाँको धार्मिक महत्त्वलाई थप विशेष बनाएको छ।

घटस्थापनाका दिन चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा पनि छ। कृषि उत्पादन बढोस्, अन्नको अभाव नहोस् तथा समाजमा सुख, शान्ति र समृद्धि कायम होस् भन्ने कामनासहित मार्सीधानको सिक चढाउने गरिएको संस्कृतिविद् रमानन्द आचार्यले बताए।

विगतमा चन्दननाथ मन्दिरमा लिंगो फेर्न आवश्यक सामग्री कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट ल्याउने गरिन्थ्यो। आचार्यका अनुसार जुम्लाबाट अन्न र पैसा, कालिकोटबाट बाबियो, घिउ र मह, हुम्लाबाट ठेटुवा तथा चौरीको फुर्को र मुगुबाट दाल, राडीपाखीलगायत सामग्री ल्याउने परम्परा थियो। तर, समयक्रमसँगै यो चलन हराउँदै गएको छ। अहिले लिंगो फेर्न आवश्यक व्यवस्थापन सुरक्षाकर्मीले गर्दै आएका छन्।

धार्मिक आस्था, कृषि संस्कृति र सामूहिक सहभागितासँग जोडिएको लिंगो फेर्ने परम्परा जुम्लाको मौलिक सांस्कृतिक पहिचान बनेको आचार्यले बताए। पुस्तौँदेखि चल्दै आएको यस परम्पराले दसैंको स्वागत गर्नुका साथै स्थानीय इतिहास, धार्मिक विश्वास र मौलिक संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।

घटस्थापनाको अवसरमा व्यापारका लागि जिल्ला बाहिर गएका व्यापारी, अध्ययनका लागि बाहिर रहेका विद्यार्थी र अन्यत्र कर्मथलो बनाएका कर्मचारीसमेत घर फर्किने गर्छन्। त्यसैले यो दिन धार्मिक तथा सांस्कृतिक महत्त्वसँगै आफन्त र परिवारजनसँग भेटघाट गर्ने अवसरका रूपमा पनि परिचित छ।

ताजा समाचार