कैलालीको टीकापुरमा केरामा देखिएको पानामा रोगको प्रजाती टिआर–फोरको प्रारम्भिक अध्ययन थालिएको छ ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरेको नमुना परीक्षणबाट पानामा रोगको यो प्रजाती नेपालमा पहिलो पटक पुष्टि भएको थियो ।
राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा.रामबहादुर खड्काको नेतृत्वमा सात सदस्यीय अध्ययन कार्यदल बनेको छ । कार्यदलले टीकापुरमा पुगेर अध्ययन शुरु गरेको छ ।
रोग पत्ता लागेपछि टिकापुरमा केराको बगानबाट अर्को बगानमा सर्न नदिनका लागि आचारसंहितासहित कार्यान्वयनका लागि सरोकारवालासँग छलफलसमेत गरिएको छ ।
संयोजक डा. खड्काले किसानलाई हतोत्साहित नहुन तर सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।
उहाँले पानामा रोगको सङ्क्रमण अन्य बगानमा फैलिन नदिन किसान नै मुख्य सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
रोग फैलिएको क्षेत्रमा सङक्रमित बालीबोट नष्ट गर्ने र अन्य क्षेत्रमा फैलिन नदिन विशेष सावधानी आवश्यक रहेको उहाँको भनाइ छ ।
माटोबाट रोग सर्ने भएका कारण किसानले हरेक केरा बारीमा क्वारेन्टाइन बनाउनुपर्ने सुझाव कार्यदलले दिएको छ ।
कार्यदलका सदस्य वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले बारीमा जाँदा उत्पादन भएको केरा सङ्कलन र बजारीकरण गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्नुभयो ।