धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका दुई जनाको मृतयु भएको छ । मृत्यु हुनेमा बाजुराका एक र कालिकोटका एक गरी दुई जना युवक रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार मंगलबार राति ८ बजेर ४२ मिनेटमा बाजुराको त्रिवेणी नगरपालिका वडा नं १ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।
बुढालाई अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पमा राखेर उपचार भइरहेको थियो । त्यहिँ उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै मंगलवार दिउँसो नै अक्सिजन अभावका कारण लडेर घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका १ का धनप्रसाद न्यौपानेको उद्धार पछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो । उहाँ सोमवार बेहोस अवस्थामा भेटिनुभएको र मंगलवार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागि सुर्खेत लगिए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक न्यौपाने संगै उद्धार गरिएकी बझाङ्ग जिल्ला जयपृथ्वी नगरपालिका–९ की झुपु धामीलाई भने सामान्य उपचारपछि घर फर्काइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताउनुभएको छ ।