९ मंसिर २०८१, आईतवार

बाग्मती प्रदेशका कांग्रेस प्रमुख सचेतक काफ्लेद्वारा राजीनामा


नेपाली कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएकाे छ । सामजिक सञ्जाल फेसबुकमार्फत् काफ्लेले संसदीय दलका नेता बहादुरसिंह लामासमक्ष राजीनामा पेस गरेको तस्बिर सार्वजनिक गर्दै यस्ताे जानकारी गराउनु भएकाे हाे ।

उहाँले राजीनामा दिनुकाे खास कारण भने खुल्न सकेको छैन । उहाँले प्रमुख सचेतकको भूमिकाले पार्टी सङ्गठनको काममा समय दिन नसकेका कारण जनसेवामा समय अभाव महसुस भएको बताउनु भएकाे छ ।

‘प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । अत: केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली नागरिकको सेवामा थप समर्पित हुन याे पदबाट राजीनामा दिएको छु । यस बीचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बाग्मती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ’ उहाँले लेख्नुभएकाे छ ।

गएकाे पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाकाे गठबन्धनको सरकार गठन भएपछि कांग्रेस प्रतिपक्ष दल बनेको थियो । कांग्रेस प्रतिपक्ष दल रहँदा संसदीय दलका नेता लामाले उहाँलाई प्रमुख सचेतक नियुक्त गर्नुभएकाे थियाे ।

तत्कालीन सत्तागठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गएकाे फागुनमा सत्ता गठबन्धन परिवर्तनसंँगै कांग्रेस सत्ता पक्ष बन्यो ।

कांग्रेस सत्तामा आएसँगै उहाँको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालले पाउनु भएकाे थियाे । ढकाल प्रमुख सचेतक बनेपछि उहाँ सचेतकको जिम्मेवारीमा रहनु भएको थियो ।