हेटौँडामा रहेको सञ्चो अस्पतालका डाक्टरमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज शुक्रवार तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका डाक्टरहरू विकास थापा र प्रशान्त बिडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गरिएको हाे । कार्यालयका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले पीडित डाक्टरले दिएको जानकारी र सीसीटीभी क्यामेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारबाही हुने बताउनुभयो ।
घटना विवरणअनुसार गएकाे साउन २५ गते डेङ्गीबाट सङ्क्रमित हेटाैँडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले डाक्टरहरू थापा र बिडारीमाथि गएकाे बुधवार हातपात तथा कुटपिट गरेका थिए ।
सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गी सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले मृतकका आफन्तले डाक्टरमाथि आक्रमण गरेका थिए ।
डाक्टरमाथि भएको कुटपिटको विरोधमा आज शुक्रवार हेटाैँडामा रहेका सरकारी, निजी तथा क्लिनिकका डाक्टरले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा. थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा. बिडारी हेटाैँडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।
यसैबीच कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै हेटाैँडा अस्पतालका ७८ जना चिकित्सकले सामूहिकरूपमा अस्पतालका सुपरिन्टेन्डेन्ट डा. रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामा दिएका छन् ।