परराष्ट्रमन्त्री एनपी साउदले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणतर्फ बेलैमा गम्भीर बन्न अपिल गर्नुभएको छ । जैविक ऊर्जाको भविष्यका लागि सांसदको सञ्जाल (पार्लियामेन्टरियन्स नेटवर्क फर अ फोसी फयुल फयुचर) ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भावी पिँढीका लागि कार्ययोजना निर्माण गर्न समन्वयात्मक ढङ्गले अगाडि बढ्नुपर्ने मुख्य चुनौती देखिएको बताउनुभयो ।
उहाँले जैविक ऊर्जाको विस्थापनका लागि प्रक्रियागत रणनीतिका बारेमा अतिकम विकसित देशको अध्यक्षको हैसियतले मुख्य वक्ताका रूपमा कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
यसैबीच संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्युयोर्क पुग्नुभएका परराष्ट्रमन्त्री साउद र राजनीति तथा शान्ति स्थापना मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव रोजम्यारी डि कार्लोबीच भेट भएको छ । उहाँहरुबीच विश्व शान्ति र सुरक्षाका बारेमा छलफल भएको राष्ट्रसङ्घका लागि नेपाली नियोगले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको ७८ औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच हिजो भेटवार्ता भयो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो । प्रधानमन्त्री प्रचण्डले पर्सि बुधवार महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।