प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ पिपुल अफ कङ्ग्रेसका स्थानीय समिति अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । उहाँहरूबीच चीन ग्रेटहल अफ दि पिपलमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूको सहभागिता रहेको थियो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल–चीन सम्बन्धका विविध आयाममाथि छलफल गर्नुभयाे । उहाँले नेपाल–चीन सम्बन्ध सन् १९५५ मा औपचारिकरूपमा स्थापना हुनुभन्दा पहिले पाँचौँ शताब्दीमा नै नेपाली बौद्ध भिक्षु बुद्ध भद्रले चीन भ्रमण गरेदेखि नै शुरु भएको उल्लेख गर्नुभयो ।
उहाँले यस भ्रमणका क्रममा प्रधानमन्त्रीको हैसियतमा नेपाल–चीन सम्बन्धका विविध विषयमा छलफल भइ नयाँ समझदारी निर्माण गरेको महसुस गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले यस पटकको भ्रमण फलदायी भएको र दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले ‘एसियन गेम्स’ को सफलतापूर्वक आयोजना गरेकोमा चीनलाई बधाई दिनुभयाे ।
त्यसैगरी अध्यक्ष चाओले दुई देशबीचको सम्बन्ध समानता आधारित रहेको चर्चा गर्दै नेपाल–चीन पञ्चशीलतामा आधारित परराष्ट्र नीतिलाई सम्मान गर्ने बताउनु भयाे । चिनियाँ राष्ट्रपति सी जिनपिङले यस भ्रमणलाई महत्त्व दिएको र यस भ्रमणलाई दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ भएको उहाँले बताउनुभयो ।
अध्यक्ष चाओले नेसनल पिपल अफ कङ्ग्रेस र नेपालबीचको सम्बन्ध विस्तार र सहकार्य गर्न सदैव तयार रहेको उल्लेख गर्नुभयो ।