८ मंसिर २०८१, शनिबार

एमाले प्रदेश अधिवेशन : बाग्मतीमा नेतृत्व छान्न आज मतदान, कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदै, कोशीको आज उद्घाटन


नेकपा एमाले प्रदेश अधिवेशन अन्तर्गत बाग्मतीमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । कर्णालीमा चुनावी प्रक्रिया शुरु हुँदैछ भने कोशीको प्रथम अधिवेशन पनि आज उद्घाटन हुँदैछ । बाग्मती प्रदेश अधिवेशनमा नेतृत्व छान्न अहिले बिहानदेखि मतदान शुरु गर्ने तयारी छ ।

ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बिहान ८ बजेदेखि मतदानको तयारी भैरहेको छ । बाग्मती प्रदेशको अध्यक्षका लागि कृष्ण दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ ।

हिजोका लागि तय भएको मतदानलाई रोकेर गरिएको छलफलपछि अध्यक्ष उम्मेदवारहरु केशव पाण्डे, सानुकुमार श्रेष्ठ र केशरबहादुर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएको एमाले स्थायी कमिटी सदस्य एवं निर्वाचन अध्यक्ष मण्डलका सदस्य शेरबहादुर तामाङले बताउनुभयो ।  असोज ८ गते भृकुटीमण्डपमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो । अधिवेशनको बन्दसत्र कमलादीको नेपाल प्रज्ञा प्रतिष्ठानमा मङ्गलवार सम्पन्न भएको थियो ।

यस्तै, नेकपा एमाले कर्णाली प्रदेशको चुनावी प्रक्रिया आजदेखि शुरु हुँदैछ । नेताहरुका अनुसार कर्णालीमा गुलाबजङ्ग शाह र गोरखबहादुर बोगटीबिच अध्यक्षमा प्रतिस्पर्धा हुने सम्भावना छ । तर सहमतिका लागि निरन्तर प्रयास भइरहेको छ ।

यस्तै, एमाले कोशी प्रदेशको पहिलो अधिवेशन आजदेखि विराटनगरमा शुरु हुँदैछ । अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुनेछ । नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिरहेका छन् । तर कोशीको अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

एमाले मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ मा जनकपुरमा हुनेछ । प्रथम अधिवेशनका लागि हिजो नारा र लोगो समेत सार्वजनिक गरिएको छ । एमाले सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशन असोज २१ र २२ गते हुँदैछ । यसअघि लुम्बिनी प्रदेशको अधिवेशन सम्पन्न भइसकेको छ । लुम्बिनी प्रदेश कमिटीमा नेतृत्वका लागि मतदान भएकोमा अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको थियो ।