प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कँदै हुनुहुन्छ ।
आठ दिनको चीन भ्रमण सकेर उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतबाट स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका जानुभएको थियो ।
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभएको थियो ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले अमेरिकाका राष्ट्रपति जो बाइडेन र अरु देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । उहाँ गएको असोज ५ गते अमेरिकाबाट सिधै छिमेकी देश चीनको औपचारिक भ्रमणका लागि जानुभएको थियो ।
चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो ।
त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय भेटवार्ता गर्नुभयो । भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।