७ कार्तिक २०८३, शुक्रबार Friday, October 23, 2026

इजरायलमा बेपत्ता विद्यार्थी विपीनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सरकारको आग्रह


सरकारले इजरायलमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपीन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोगहरुसँग आग्रह गरेको छ ।

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय सङ्घसंस्था र कुटनीतिक नियोग तथा मिसनहरूसँग आग्रह गर्नुभएको हो । परराष्ट्रमन्त्री साउदले विपीनको अवस्था पत्ता लगाउन सरकारले सम्भव भएसम्मका सबै संयन्त्र परिचालन गरेको पनि बताउनुभएको छ ।

हमाससँग सम्बन्ध भएका भनिएका देशहरुसँग पनि कुरा भइरहेको उहाँको भनाइ छ । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपीन आक्रमणकारी हमास समूहको कब्जामा रहेको हुनसक्ने अनुमान छ ।

इजरायलमा रहेको नेपाली दूतावासले पनि बेपत्ता विपीनको खोजी गर्ने काम भइरहेको जनाएको छ ।

यसैबीच प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलमा गरेको आक्रमणमा परि ज्यान गुमाएका १० मध्ये ५ जना विद्यार्थीको शव सरकारले प्राप्त गरेको छ ।

तेल अभिभमा रहेको नेपाली दूतावासले विज्ञप्ति निकालेर आक्रमणमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार आक्रमणमा परि घाइते भएका ४ मध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् र २ जनाको उपचार भइरहेको छ । यस्तै, इजरायलमा कार्यरत नेपालीमध्ये चार सय जनाभन्दा धेरैले स्वदेश फर्कनको लागि अनलाइन रजिस्ट्रेसन फारम भरेका छन् । उनीहरुलाई पनि फर्काउने तयारी भइरहेको सरकारको भनाइ छ ।

सरकारले २ सय ५४ जना विद्यार्थीलाई इजरायलबाट स्वदेश फर्काइसकेको छ ।

ताजा समाचार