ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानलाई यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको छ ।
आज बिहीवार जल तथा मौसम विज्ञान विभागको कार्यालय अनुगमन गर्दै मन्त्री बस्नेतले यस आर्थिक वर्षमा मौसम पूर्वानुमानलाई अझै यथार्थपरक बनाउने गरी काम अगाडि बढाउने बताउनुभएको हो । उहाँले यसका निम्ति विगतको अनुभवसहितलाई समेत मध्यनजर गर्दै आवश्यक अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभयो । उहाँले मौसम पूर्वानुमानलाई अनुमानयोग्य र भरपर्दो बनाउनलाई ध्यान दिइने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मौसम पूर्वानुमानलाई अझ अनुमानयोग्य कसरी बनाउने, अझ भरपर्दो कसरी बनाउने भन्नेमा ध्यान पुर्याउँछौँ । पूर्व सूचना प्रणालीलाई अझ व्यापक कसरी बनाउने, के हुँदैछ भन्ने कुरा आमनागरिकले बुझ्न सक्ने वा थाहा पाउन सक्ने गरी काम अगाडि बढाउनुपर्छ । पूर्वानुमानलाई कसरी बढीभन्दा बढी व्यावहारिक र अझ बढी यथार्थपरक बनाउने भन्ने विषय नै चुरो कुरा हो । पूर्वानुमानलाई कसरी अझ भरपर्दो बनाउन सकिन्छ भनेर हामी छलफल पनि गरिरहेका छौँ । यसका निम्ति चाहिने प्रविधि, जनशक्ति, तालिमको बारेमा सरकारले मन्त्रालयको तर्फबाट पर्याप्त ध्यान पुर्याउँछ ।’
मन्त्री बस्नेतले विभागका कर्मचारीहरूलाई जिम्मेवारीपूर्वक काम गर्न र सही सूचना दिन पनि आग्रह गर्नुभयो ।