सर्मिला रोकाया, बाजुरा
बाजुराको हिमाली गाउँपालिका ३ लाम्पाटामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको छ । बाजुरा र हुम्ला बीच उत्पन्न विवादले अशान्त बनेको लाम्पाटामा संयुक्त अस्थायी सुरक्षा बेश स्थापना भएको हो । लाम्पाटामा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक जनक पौडेलको कमाण्डमा २१ जना र प्रहरी सहायक निरीक्षक मिठ्ठु बहादुर बोहराको कमाण्डमा ७ जना नेपाल प्रहरी गरी २८ जनाको टिम रहने गरि अस्थायी चौकी स्थापना भएको हो । योसँगै तीन महिनासम्म सुरक्षा बेस स्थापना गरेर लाम्पाटासहित रानीसैन क्षेत्रमा सुरक्षामा उक्त टोलीले नियमित गस्ती गर्ने भएको छ ।
दुई जिल्ला बीच बाजुराको लाम्पाटामा सुदूरपश्चिम प्रदेश सरकारले अस्थायी प्रहरी चौकी स्थापना गर्न सुरु गरे पछि विवाद सुरु भएको थियो । पछिल्लो समय विवाद झन् सतहमा आएपछि सरकारले सुरक्षाका लागि संयुक्त अस्थायी सुरक्षा बेस स्थापना गरेको हो । केही दिनअघि हुम्लाका बासिन्दाहरुले बाजुराका भोटे समुदायमाथि कुटपिट तथा दुव्र्यवहारसँगै गोठमा आगजनी गरेको विषय समेत बाहिरिएको थियो । त्यसपछि केन्द्रीय सुरक्षा समितिको बैठकले नै विवादित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको केन्द्रीय संयुक्त सुरक्षा बेश स्थापना गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयअनुसार दुवै सुरक्षा निकायको संयुक्त उपस्थितिमार्फत विवादित क्षेत्रमा शान्ति, सुरक्षा र समन्वय कायम गर्दै परिस्थितिलाई नियन्त्रणमा राख्ने तयारी गरिएको छ । अस्थायी सुरक्षा बेशमा खटिएको टोलीलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट नै आवश्यक निर्देशन दिइने र आवश्यकता अनुसारको समन्वय गर्ने समेत बताइएको छ ।
यसैविच उक्त क्षेत्रमा प्रहरी पुगे पछि लाम्पाटाका स्थानीय गाउँ फर्केका छन्, स्थिति सामान्य बन्दै गएको छ । यसअघिको घटनामा पीडित भएका तथा त्रसित बनेर लाम्पाटाबाट अन्यन्त्र बसेका त्यहाँका स्थानीय बासिन्दाहरु प्रहरी पुगेसँगै गाउँ फर्कन थालेका हुन् । उनीहरुले शान्ति–सुरक्षा व्यवस्थापन, चोरी–तस्करी नियन्त्रण तथा स्थानीय नागरिकको सुरक्षा थप मजबुत हुने अपेक्षा राखेका छन । लामो समयदेखि सुरक्षा उपस्थितिको आवश्यकता महसुस गरिँदै आएको लाम्पाटामा प्रहरी चौकी स्थापना हुदा स्थानीयवासीका लागि सकारात्मक र स्वागतयोग्य कदम छ ।
यसले जनतालाई सुरक्षाको अनुभूति दिलाउनुका साथै बाजुराको विकास र समृद्धिको यात्रालाई समेत सहयोग पु¥याउने विश्वास गरिएको छ । “सुरक्षित लाम्पाटा, समृद्ध बाजुरा लाम्पाटा” भन्ने लक्ष्यतर्फ यो महत्वपूर्ण सुरुवात हो ।
त्यस्तै विवादित लाम्पाटा क्षेत्रमा प्रहरी चौकीका लागि प्रदेश सरकारले थप बजेट विनियोजन गर्ने र वन कार्यालयको पोष्ट पनि स्थापना गरिने प्रदेश माननिय नरेश कुमार शाहीले बताउनुभएको छ । उहाँले टेलिकम टावर र फोर जि सेवाका लागि पनि पहल भैरहेको बताउनु भएको हो ।
हिमाली गाउँपालिका ३ लाम्पाटामा जेठ ३ र ५ गते स्थानीयबासी, कर्मचारी तथा जनप्रतिनिधिमाथि हुम्लाका नागरिकहरुले लाम्पाटामै आएर कुटपिट तथा दुव्र्यवहार गरेका थिए । यस्तै जेठ २३ गते हुम्ला क्षेत्रका बासिन्दाले रानीसैन क्षेत्रबाट भोटे समुदायलाई लखेट्नुका साथै गोठमा आगजनी गरेको तथा दुव्र्यवहार गरेको स्थानीयले बताएका छन् ।
त्यस्तै जेठ ५ गते रानीसैन क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा प्रचारका लागि पुगेको टोलीमाथि कुटपिट तथा दुव्र्यवहार भएको घटना सार्वजनिक भएको थियो । घटनामा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द मल्ल, कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहितको टोलीमाथि समेत आक्रमण भएको थियो ।
उक्त घटनामा हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडा सदस्य पेमागारा गुरुङलगायत केही स्थानीय तथा सुरक्षाकर्मी घाइते भएका थिए । जेठ ३ गते हुम्लाबाट आएका स्थानीयले लाम्पाटा गाउँ पुगेर वडा सदस्य गुरुङ लगायत स्थानीयलाई कुटपिट गरी बन्धक बनाएका थिए ।
पीडितहरुले घटनाको थयार्थ छानबिन गरी दोषिहरुलाई कारबाहीको माग गर्दै निरन्तर दबाबमूलक आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । लाम्पाटा घटनामा कुटपिट तथा दुव्र्यवहार गर्ने हुम्लाका २३ जनाका नाममा पक्राउ पूर्जी समेत जारी भइसकेको भए पनि हालसम्म पक्राउ गर्न सकेको छैन् ।