१८ श्रावण २०८३, सोमबार

स्वामिकार्तिकमा स्याउको गुणस्तर परीक्षण ।


बाजुरा, साउन १७ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उत्पादन हुने स्याउको गुणस्तर परीक्षण गरिएको छ। कृषि विकास शाखा स्वामिकार्तिक, LIBIRD/RERAS परियोजना तथा GEI र ASIA का प्राविधिक टोलीले गाउँपालिकाका विभिन्न कृषकका स्याउ बगैंचामा पुगेर परीक्षण गरेको हो।

प्राविधिक टोलीले रेफ्र्याक्टोमिटर (Refractometer) को प्रयोगमार्फत स्याउको मिठास (TSS/Brix) मापन गरेको कृषि विकास शाखा स्वामीकार्तिका प्रमुख बिनोद शाहिले जानकारी दिनुभएको छ। उक्त परीक्षणबाट स्याउमा रहेको घुलनशील चिनीको मात्रा थाहा हुने भएकाले फलको स्वाद, गुणस्तर तथा बजारयोग्य अवस्थाको वैज्ञानिक रूपमा मूल्याङ्कन गर्न सहज हुने उहाँले बताउनुभयो ।

यस प्रकारको परीक्षणले कृषकलाई स्याउ टिप्ने उपयुक्त समय निर्धारण गर्न, उत्पादनको गुणस्तर थप सुधार गर्न तथा बजारमा प्रतिस्पर्धी मूल्य प्राप्त गर्न महत्वपूर्ण आधार प्रदान गर्ने अपेक्षा गरिएको कृषि विकास शाखाले जनाएको छ।

गाउँपालिकामा उत्पादित स्याउको गुणस्तर अभिवृद्धि गर्दै व्यावसायिक उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्तो प्राविधिक परीक्षण सञ्चालन गरिएको शाहिले बताउनुभयो । स्थानीय कृषकले समेत आधुनिक प्रविधिमार्फत गरिएको परीक्षणले उत्पादनको मूल्य बढाउन र बजार विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

ताजा समाचार