७ मंसिर २०८१, शुक्रबार

२ वटा संसदीय समितिमा एमालेको उम्मेदवारी दर्ता ।


नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।

आज आइतवार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराउनुभएको हो । पोखरेलको प्रस्तावकमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहनुभएको छ । शाहको प्रस्तावकमा कांग्रेस सांसद शान्ति विक र एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बन्नुभएको छ ।

संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ । प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिको सभापति पदका लागि भोलि सोमवार हुने चुनावका लागि आज बिहान ११ देखि दिउँसो ४ बजेसम्मका लागि उम्मेदवारी मनोनयन दर्ता गराउने कार्यतालिका छ ।