७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

काठमाडौंमा २४ घण्टामा १२१ जना पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सञ्चालन गरेको स्विप अपरेसनका क्रममा २४ घण्टामा १ सय २१ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार सार्वजनिक स्थान तथा सेवा प्रवाह गर्ने कार्यालय र यातायात क्षेत्रमा हातपात, हुलहुज्जत, दुर्व्यवहार, चोरी, लुटपाट, बिचौलियागिरी तथा गुण्डागर्दीजस्ता गतिविधिमा संलग्न व्यक्ति पक्राउ परेका हुन्।

पक्राउ परेकामध्ये १९ जना अदालतबाट सजाय तथा जरिवाना तोकिएका कसुरदार, ४ जना मुद्दाका फरार प्रतिवादी र १ जना फरार कैदीबन्दी तथा थुनुवा रहेका छन्। अदालतको फैसला कार्यान्वयनतर्फ पक्राउ परेकाबाट ३८ लाख ९१ हजार ५ सय ७५ रुपैयाँ जरिवाना तथा ३ वर्ष ६ महिना २ दिन कैद असुलउपर गर्नुपर्ने प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा १ सय ५ पुरुष, १५ महिला र १ जना अन्य रहेका छन्। प्रहरीले आपराधिक गतिविधिमा संलग्न वा फरार प्रतिवादीबारे जानकारी भए हटलाइन नम्बर १०० मा सूचना दिन आग्रह गरेको छ।