७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026

तेन्जिङ शेर्पाले जिते एसियाडमा कांस्य पदक


काठमाडौं- नेपाली कराते खेलाडी तेन्जिङ शेर्पाले २०औँ एसियाली खेलकुदमा कांस्य पदक जितेका छन्। पुरुष कुमिते ८४ केजीमाथिको स्पर्धाको कांस्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना सायासनलाई ९–१ ले पराजित गरेका हुन्।

यससँगै तेन्जिङले नेपाली कराते टोलीका लागि यस एसियाडमा पदकको खडेरी अन्त्य गरेका छन्। यसअघि उनले क्वार्टरफाइनलमा मकाउका ओन टेक लियोङलाई हान्सोकुका आधारमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका थिए।

सेमिफाइनलमा भने तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए। त्यसपछि कांस्य पदकका लागि उनले लाओसका खेलाडीविरुद्ध प्रतिस्पर्धा गरेका हुन्।

तेन्जिङको पदकसँगै २०औँ एसियाली खेलकुदमा नेपालको करातेबाट पदक जित्ने सम्भावना साकार भएको छ। यसअघि एरिका गुरुङलगायत नेपाली कराते खेलाडीहरू पदकका लागि भएका प्रतिस्पर्धाबाट बाहिरिएका थिए।