काठमाडौँ –पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतलबजारमा बाढीका कारण क्षतिग्रस्त सडकखण्डमा कडा चट्टान हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडक कटान गरेपछि उक्त खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन हुँदै आएको थियो। सडकलाई पुनः दुईतर्फी सञ्चालनयोग्य बनाउन भित्तातर्फ रहेको करिब ५५ मिटर लामो कडा चट्टान हटाइएको नागढुंगा–मुग्लिङ सडक योजनाले जनाएको छ।
नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रिलिङ र विस्फोटक पदार्थ प्रयोग गरी भदौ २६ देखि असोज ७ गतेसम्म २१ पटक चट्टान विस्फोट गराएर हटाइएको हो। करिब १३ दिनसम्म उच्च जोखिमका बीच सेनाको टोलीले निरन्तर काम गरेपछि सडकखण्ड अहिले सहज र दुईतर्फी सवारी सञ्चालनका लागि योग्य बनेको योजनाले जनाएको छ।
चट्टान हटाउने जोखिमपूर्ण काम सफलतापूर्वक सम्पन्न गरेको भन्दै सडक योजनाले नेपाली सेना तथा प्राविधिक टोलीप्रति आभार व्यक्त गरेको छ। साथै, विपद्का बेला आवश्यक सहजीकरण गर्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला सुरक्षा समिति धादिङ तथा यात्रु, चालक र स्थानीयवासीलाई समेत धन्यवाद दिएको छ।