=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

लिर्बडद्धारा १५ दिनको सिकाइः आमाकै हातबाट कुपोषण रोक्ने प्रयास ।


सर्मिला रोकाया
१४ महिनाको बच्चा काखमा च्यापेर बाजुराको हिमाली गाउँपालिका–४ बोर्ताकी अम्मकला भण्डारी हरेक दिन बोर्ता आधारभूत स्वास्थ्य केन्द्र पुग्नुहुन्थ्यो । एक दिन, दुई दिन होइन—लगातार १५ दिनसम्म ।
तेस्रो सन्तान हुर्काइरहनुभएकी अम्मकलालाई यसअघि बच्चाको खानपान र पोषणका विषयमा धेरै कुरा सामान्य नै लाग्थ्यो । आफूले खाएको खाना बच्चाले खाए खाओस्, नखाए त्यत्तिकै छोडिदिने उहाँको बानी थियो । तर १५ दिनको पोषण शिक्षा कार्यक्रममा सहभागी भएपछि उहाँको बुझाइ फेरिएको छ ।
अब उहाँलाई थाहा छ—
बच्चाले पेट भरेर खायो कि खाएन भन्ने मात्र होइन, के खायो, कसरी खायो, कति पटक खायो र कति सफा वातावरणमा खायो भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण रहेछ ।
अम्मकला जस्तै बोर्ताका अन्य आमाहरूले पनि १५ दिनसम्म आफ्ना बच्चालाई काखमा लिएर स्वास्थ्य केन्द्र पुग्दै बाल पोषण, सरसफाइ र स्याहारसम्बन्धी व्यवहारिक ज्ञान लिनुभयो ।
यो केवल एउटा तालिम थिएन । घरमै बच्चालाई कुपोषणबाट जोगाउन आमाको हातमा सीप दिने प्रयास थियो ।
“पाँच वर्षसम्म रहन्छ कुपोषणको जोखिम”
बच्चा जन्मिएपछि उसको शरीर र मस्तिष्क तीव्र गतिमा विकास भइरहेको हुन्छ । यही समयमा पर्याप्त पोषण नपाउँदा बालबालिकाको वृद्धि र विकासमा असर पर्न सक्छ । तर कुपोषणलाई धेरैले अझै पनि बच्चा अत्यन्त दुब्लो भएपछि मात्र देखिने समस्याका रूपमा बुझ्ने गरेका छन् ।
कुपोषणको सम्बन्ध बच्चाको उमेरअनुसार वृद्धि, तौल, उचाइ, खानपान, बारम्बार हुने संक्रमण, सरसफाइ र समग्र स्वास्थ्य अवस्थासँग जोडिएको हुन्छ । विशेषगरी पाँच वर्षमुनिका बालबालिका कुपोषणको जोखिममा रहने भएकाले उनीहरूको खानपान र स्वास्थ्यमा निरन्तर ध्यान दिन आवश्यक हुन्छ ।

यही अवस्थालाई मध्यनजर गर्दै लिवर्डद्वारा सञ्चालित ‘समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना’ अन्तर्गत हिमाली गाउँपालिका–४ बोर्तामा सकारात्मक भिन्न व्यवहारमा आधारित पोषण शिक्षा तथा पुनःस्थापना केन्द्र कार्यक्रम सञ्चालन गरिएको हो । परियोजनाले पोषण शिक्षा कार्यक्रम भाद्र २४ गते देखि असोज ७ गते सम्म सञ्चालन गरेको थियो ।
कार्यक्रममा सहभागी आमाहरूलाई बच्चाको स्याहार–सुसार, सरसफाइ, स्तनपान, उमेरअनुसार थप खाना खुवाउने तरिका, खाना पकाउने र खुवाउने सही अभ्यास तथा स्वास्थ्य संस्थामा नियमित जाँच गराउने विषयमा जानकारी दिइएको परियोजना संयोजक युवराज थापाले बताउनुुभयो ।
उहाँले बच्चाले खाना नखाँदा के गर्ने, खाना कति पटक खुवाउने, स्तनपानपछि थप खाना कसरी सुरु गर्ने, खाना र पानी कति सफा हुनुपर्छ, बच्चा बिरामी हुँदा कहिले स्वास्थ्य संस्था लैजाने, कुपोषण भइसकेपछि मात्र उपचार गर्ने कि कुपोषण हुनै नदिने यी प्रश्नको व्यवहारिक उत्तर खोज्ने प्रयास कार्यक्रममार्फत गरिएको थापाले बताउनुभयो ।
आमाहरूलाई केवल कुरा सुनाउनेभन्दा पनि बच्चाको हेरचाह र खानपानका व्यवहारिक अभ्यासमा जोड दिइएको थियो । पोषणसम्बन्धी ज्ञान किताबमा मात्र भएर पुग्दैन, त्यो ज्ञान घरको भान्सामा, बच्चाको थालमा र आमाको व्यवहारमा देखिनु पर्नेमा जोड दिएको थियो ।
बच्चालाई आफूले खाएको खाना दिएर मात्र पुग्दैन, उमेरअनुसार पोषिलो र विविध खाना, सही समयमा खाना, पर्याप्त स्तनपान र सरसफाइ पनि आवश्यक हुन्छ,अब घर फर्किएपछि सिकेका कुरा व्यवहारमा लागू गर्ने आमाले प्रतिबद्धता गरेका छन ।
‘स्तनपानपछि थप खाना पनि आवश्यक रहेछ’
कार्यक्रममा सहभागी अर्की आमा हुनुहुन्छ सत्यदेवी शाही ।
उहाँले पनि कार्यक्रमबाट बच्चाको खानपान र सरसफाइबारे महत्वपूर्ण कुरा सिकेको बताउनुहुन्छ । स्तनपानपछि बच्चालाई थप खाना खुवाउनुपर्ने, समयमा खाना दिनुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुरा आफूले सिकेको उहाँको भनाइ छ ।
कक्षा १२ सम्म अध्ययन गर्नुभएकी शाहीलाई कार्यक्रमका विषय बुझ्न सहज भयो । तर आफूले जानेका कुरा घरमै व्यवहारमा उतार्नु अझ महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । बच्चालाई कुपोषणबाट जोगाउन संस्थाले गरेको प्रयास सकारात्मक रहेको भन्दै उहाँले आगामी दिनमा पनि थप आमा र बालबालिकालाई समेटेर यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।
“कुपोषण रोक्न उपचारभन्दा व्यवहार परिवर्तन महत्वपूर्ण”
परियोजना संयोजक थापाका अनुसार, बालबालिका पाँच वर्षको उमेरसम्म जुनसुकै समयमा पनि कुपोषणको जोखिममा पर्न सक्छन् । त्यसैले बच्चा एकपटक कुपोषणबाट बाहिर आयो भन्दैमा समस्या सकिएको मान्न नहुने उहाँ बताउनुहुन्छ । कुपोषण दोहोरिन नदिन घरमै अपनाउने व्यवहार परिवर्तन आवश्यक हुन्छ । यही कारण कार्यक्रमले आमालाई केन्द्रमा राखेको हो ।
बच्चाको पोषण सुधार गर्न स्वास्थ्य संस्थाको भूमिका महत्वपूर्ण छ । तर बच्चाले दिनहुँ खाने खाना र पाउने हेरचाह घरमै हुने भएकाले परिवारको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यदि बच्चाले पर्याप्त खाना नपायो, खाना विविध भएन, सरसफाइ भएन वा बारम्बार बिरामी भइरह्यो भने कुपोषणको जोखिम बढ्न सक्छ । त्यसैले कार्यक्रमले कुपोषणको उपचारसँगै रोकथाम र पुनःकुपोषण हुन नदिने व्यवहारमा जोड दिएको हो ।
सफा खाना मात्र होइन, सफा हात पनि
बाल पोषणको कुरा गर्दा खानाको गुणस्तर मात्र हेरेर पुग्दैन, बच्चालाई खाना खुवाउनुअघि आमाले हात सफा गरेको छ कि छैन ? खाना बनाउने भाँडा सफा छन् कि छैनन ? पिउने पानी सुरक्षित छ कि छैन ? बच्चाको वरपरको वातावरण सफा छ कि छैन ?
यी विषय पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
सरसफाइको कमीका कारण बालबालिकामा विभिन्न संक्रमण तथा झाडापखाला जस्ता समस्या हुन सक्छन् । पटक–पटक बिरामी हुँदा बच्चाको स्वास्थ्य र पोषण अवस्थामा असर पर्न सक्छ उहाँले भन्नुभयो ।
बच्चाको पोषण सुधारका लागि पोषिलो खाना र सरसफाइलाई सँगसँगै लैजानुपर्नेमा कार्यक्रममा सहभागी आमाहरूलाई सिकाइ केन्द्रित गरीएको थियो ।

घरमै उपलब्ध खानाबाट पोषण सुधार”
पोषिलो खाना भन्नासाथ महँगो वा बजारबाट ल्याइने खाना मात्र सम्झनु आवश्यक छैन ।
परिवारको आर्थिक अवस्था र स्थानीय उपलब्धताअनुसार अन्न, दाल तथा गेडागुडी, हरियो सागसब्जी, फलफूल, अण्डा, दूध तथा अन्य स्थानीय खाद्य पदार्थलाई उमेरअनुसार बच्चाको खानामा समावेश गर्न सकिन्छ ।
खानामा विविधता ल्याउनुको उद्देश्य बच्चालाई आवश्यक पर्ने विभिन्न पोषक तत्त्व उपलब्ध गराउनु हो । यसका लागि आमालाई घरमा उपलब्ध स्रोतसाधनकै प्रयोग गरेर बच्चाको खाना व्यवस्थापन गर्न सिकाउनु कार्यक्रमको महत्वपूर्ण पक्ष थियो।

“सात बालबालिका सहभागी”
बोर्तामा सञ्चालन गरिएको १५ दिने पोषण शिक्षा तथा पुनःस्थापना केन्द्र कार्यक्रममा सात जना बालबालिका तथा उनीहरूका आमाहरू सहभागी भएका थिए । कार्यक्रम अवधिभर आमाहरू स्वास्थ्य केन्द्रमा आएर आफ्ना बच्चासँगै सिक्ने र अभ्यास गर्ने गरेका थिए ।

यसरी हेर्दा १५ दिन छोटो समयजस्तो लाग्न सक्छ । तर १५ दिनमा सिकेको एउटा सानो व्यवहारले पनि बच्चाको दैनिक जीवनमा लामो प्रभाव पार्न सक्ने अपेक्षा गरीएको छ । समयमा खाना खुवाउने बानी, सफा हातले खाना खुवाउने बानी, बच्चाको स्वास्थ्यमा ध्यान दिने बानी र समस्या देखिए स्वास्थ्य संस्था पुग्ने बानी यिनै साना व्यवहारले कुपोषणको जोखिम कम गर्न सहयोग पु¥याउन सक्ने अपेक्षा गरीएको छ ।

“बाजुराका पाँच स्थानीय तहमा कार्यक्रम”
लिवर्डको समुन्नत पोषणका लागि समावेशी सुशासन परियोजना अहिले बाजुराका पाँच स्थानीय तहमा सञ्चालनमा छ भने पोषण शिक्षा तथा पुनःस्थापना केन्द्र कार्यक्रमअन्तर्गत हिमाली गाउँपालिका–४ बोर्ता, बुढीनन्दा नगरपालिका–६ कोटिला र वडा नम्बर ७ नौलाकोट लगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन भइरहेको छ ।

ग्रामीण क्षेत्रमा बालबालिकाको पोषण अवस्था सुधार गर्न परिवार र समुदायको सहभागितालाई जोड दिँदै कार्यक्रम अघि बढाइएको परियोजनाले जनाएको छ ।

बोर्तामा सञ्चालन भएको कार्यक्रम गाउँपालिका तथा स्वास्थ्य संस्था, वडा कार्यालय, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयम सेविकाको सहकार्यमा पोषण शिक्षा कार्यक्र सत्तचालन गरीएको हो ।

“एउटा आमाको सिकाइ, एउटा बच्चाको भविष्य”
अम्मकला भण्डारी १५ दिनपछि आफ्नो बच्चा बोकेर स्वास्थ्य केन्द्रबाट घर फर्किनुभयो । उहाँसँग फर्किएको केवल बच्चा थिएन । सँगै फर्किएको थियो—बच्चालाई कसरी खुवाउने, कसरी सफा राख्ने र कसरी कुपोषणबाट जोगाउने भन्ने नयाँ ज्ञान ।
सत्यदेवी शाहीजस्ता आमाले पनि आफूले सिकेका कुरा घरमै प्रयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
कुपोषणको समस्या केवल स्वास्थ्य संस्थाको ढोकाभित्र समाधान हुने विषय होइन । बच्चाले दिनहुँ खाने खाना घरमै तयार हुन्छ, बच्चालाई खाना खुवाउने हात घरमै हुन्छ, बच्चाको सरसफाइ र स्याहार पनि घरमै हुन्छ, त्यसैले कुपोषणविरुद्धको पहिलो अभियान पनि घरबाटै सुरु हुन्छ,
बच्चाको थालमा राखिएको खानाबाट,आमाले धुने सफा हातबाट,समयमा खुवाइने एक गाँस खानाबाट, र बच्चाको स्वास्थ्यप्रति परिवारले देखाउने सचेतनाबाट । बोर्तामा १५ दिन चलेको यो कार्यक्रमले यही सन्देश दिएको छ—कुपोषण रोक्न ठूलो परिवर्तनभन्दा पहिले घरभित्रको सानो व्यवहार परिवर्तन आवश्यक छ । किनकि— स्वस्थ बच्चा केवल परिवारको खुसी होइन, स्वस्थ समाज र समृद्ध भविष्यको आधार पनि हो ।