=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको मृत्यु प्रकरणमा राष्ट्रपति भ्लादिमिर पुटिन जिम्मेवार रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले आरोप लगाउनुभएको छ । राष्ट्रपति बाइडेनले विपक्षी राजनीतिज्ञको मृत्युको खबरपछि भ्लादिमिर पुटिन जिम्मेवार रहेको टिप्पणी गर्नुभएको हो ।
पुटिनका प्रवक्ताले नाभाल्नीको मृत्युको कारण खोजी गरिरहेको जनाएको छ तर थप जानकारी दिएको छैन । नाभाल्नीको हिजो मृत्यु भएको खबर सार्वजनिक भएसँगै शोक मनाउन शुभचिन्तकहरू रुसी दूतावास बाहिर भेला भएका छन् । उनीहरूले रुसी राष्ट्रपति पुटिनको आलोचना गरेका बीबीसीले जनाएको छ ।
विभिन्न आरोपमा सन् २०२१ मा जेल सजाय भएका पुटिनका कट्टर आलोचक ४७ वर्षका नाभाल्नीको जेलमा नै निधन भएको कारागार प्रशासनले जनाएको छ । कतिपयले नाभाल्नीमाथि लगाइएका अभियोगहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आएका थिए ।
सन् २०२० मा नाभाल्नीलाई स्नायुमा असर गर्ने नोविचोक दिएर विषाक्त बनाइएको दाबी गरिएको थियो । साइबेरियाबाट मस्को जाने उडानमा रहेका बेला उहाँ बिरामी पर्नुभएको थियो । त्यसपछि जर्मनीमा उपचार गराएर रुस फर्किएलगत्तै पक्राउ पर्नुभएका नाभाल्नी त्यसयता जेलमै हुनुहुन्थ्यो ।