=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026

व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी


९ फागुन, काठमाडौं । ई–कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै कांग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंमा परेको जाहेरी निवेदनमाथि प्रारम्भिक अनुसन्धान गरेर थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाइएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले अनलाइनखबरलाई बताए ।

सत्तारुढ नेपाली कांग्रेसमा केन्द्रीय सदस्य रहेका लामा गुण्डागर्दीको पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका व्यक्ति हुन् ।

लामासहितको समूहले आफूलाई ललितपुरको ढोलाहिटीस्थित आदर्श टोलबाट अपहरण गरेको पीडितको जाहेरीमा उल्लेख छ । अपहरण गरेर लन्डन हाउस होटलमा लगेर बन्धक बनाएको पनि जाहेरीमा भनिएको छ ।

आरोपी लामा कुनै बेला गुण्डागर्दीको क्षेत्रमा काभ्रेली समूहको नाइकेका रुपमा चिनिन्थे । पछि उनी विजयकुमार गच्छदारसँग नजिकिएर मधेशी जनाधिकार फोरम लोकतान्त्रिकमा आवद्ध भए । पछि फोरम लोकतान्त्रिक र कांग्रेसबीच एकता हुँदा उनी केन्द्रीय सदस्य बनेका थिए ।

२०७४ सालमा काभ्रेबाट प्रदेशसभा सदस्य निर्वाचन लडेका उनी पराजित भए । पछि १४ औं महाधिवेशनमा शेरबहादुर देउवाको प्यानलबाट चुनाव लडेर उनी केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

क्रिप्टोकरेन्सीको विवाद

प्रहरी स्रोतका अनुसार, खड्का क्रिप्टोकरेन्सी कारोबारमा जोडिएका व्यक्ति हुन् । खड्काले बुधबार जारी गरेको विज्ञप्तिमा पनि आफूलाई बन्धक बनाएर गणेश लामाले ‘तँसँग कति बिटक्वाइन छ, तुरुन्त हाम्रो एकाउन्टमा ट्रान्सफर गर’ भनेको भनिएको छ ।

‘मोबाइल र ल्यापटप कब्जा गरेर हेर्दा पनि केही नभेटिएपछि जबरजस्ती करकापमा पारेर मलाई २० करोड रुपैयाँको कागज गराइएको हो, उनीहरुको उद्देश्य मसँग क्रिप्टो र विटक्वाइन छ र सबै ट्रान्सफर गरौं भन्ने हो’, विज्ञप्तिमा भनिएको छ, ‘म पुलिसकोमा जाने हिम्मत पनि गर्दिन भन्ने उद्देश्यका साथ गिरोह नै लागेर योजनाबद्ध रुपमा मलाई अपहरण गरिएको हो ।’

पहिले ज्यानको सुरक्षा महत्वपूर्ण भएकाले आफू लामाको अपहरणमा परेको घटना समयमा सार्वजनिक गर्न नसकेको समेत खड्काले बताएका छन् ।

‘यहाँबाट निस्किएर घर परिवारलाई भनिस् र पुलिसकोमा गइस् भने राम्रो हुँदैन भनेर त्रसित गर्ने गरेकाले दिमागी रुपमा समेत ठूलो असर पुर्‍याएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘पहिले आफू र परिवार सुरक्षित स्थानमा हुनु र अपराधीलाई कानुनी कठघरामा उभ्याउनु मेरो प्रमुख प्राथमिकता थियो, त्यसैले आज सबै कानूनी प्रक्रिया सकेएपछि हिम्मत जुटाएर लेख्दैछु ।’