=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काे संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन करोड रुपैयाँभन्दा कम लागतका योजना सङ्घमा नराखी प्रदेश र पालिकामा पठाउनुपर्ने बताउनुभएको छ ।
सिंहदरबारमा आज बसेकाे माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो । कनिका छरे जसरी बजेट निर्माण गर्दा विकास र समृद्धि हासिल गर्न नसकिने उहाँकाे भनाइ थियो ।
‘रणनीतिक महत्त्वका योजना मात्र सङ्घमा राख्छौँ, तीन करोडभन्दा कम लागतका साना योजना प्रदेश र पालिकाले नै सञ्चालन गर्छन्, बजेटको क्षेत्र तोकेर पठाइन्छ, आयोजना छनोटको अधिकार प्रदेश र पालिकालाई प्रदान गरिन्छ’, उहाँले भन्नुभयो । नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट विनियोजन गरिने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ । पुराना योजना सम्पन्न गर्न सरकारले हरसम्भव प्रयत्न गर्नेछ ।’
प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी दिनुभयो । यो सरकारको क्षेत्राधिकार भएकाले प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्ने प्रचण्डको भनाइ छ । अब हुने मन्त्रिपरिषद् बैठकपछि सरकारका तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गरिने भएकाले ती विधेयक पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले आग्रह गर्नुभयो ।