सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । अल्पमतमा पर्नु भएका उहाँले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्दै नागरिक उन्मुक्ति पार्टीबाट तीन मन्त्री नियुक्त गर्नुभएको हो ।
नागरिक उन्मुक्ति पार्टीबाट संसदीय दलका नेता घनश्याम चौधरी र खुशीराम डङ्गौरा थारुले मन्त्रीको तथा इन्दिरा गिरीले राज्यमन्त्रीको शपथ ग्रहण गर्नुभएको छ । शुक्रवार राति ९ बजे प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।
घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । इन्दिरा गिरी कृषि राज्यमन्त्री हुनुभएको छ । खुशीराम डङ्गौरा थारुलाई विना विभागीय मन्त्री बनाइएको छ । नागरिक उन्मुक्ति पार्टीबाटै कृषि राज्यमन्त्री रहनु भएका कैलाश चौधरीलाई फिर्ता बोलाइएको छ ।
नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले दिएको समर्थन फिर्ता लिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकार चलाउनका लागि गठबन्धन गरे पनि बहुमत पुगेको छैन ।
५३ जना प्रदेश सभा सदस्य रहने सुदूरपश्चिममा बहुमत सरकार चलाउन २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेमा कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका सात गरेर २५ जना मात्रै भएको छ । बहुमत पुर्याउन मुख्यमन्त्री शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाउने प्रयास थाल्नुभएको छ ।