६ मंसिर २०८१, बिहीबार

कर्णालीमा नयाँ सरकारका लागि दलहरूलाई आह्वान


कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गर्नुभएको छ । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरूलाई आह्वान भएको हो । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको हो ।

नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने समय आउँदो २७ गतेसम्मलाई दिइएको छ । यसअघि मुख्यमन्त्री शर्माले प्रदेशसभालाई सम्बोन्धन गर्दै पदबाट राजीनामा घोषणा गरी प्रदेश प्रमुख परियारसमक्ष राजीनामा पेस गर्नुभएको थियो । सत्ता समीकरण फेरिएसँगै कांग्रेसले गएको फागुन २२ गते कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । ।

केन्द्रमा नयाँ सत्ता समिकरणसँगै सत्तारुढ पाँच दलका शीर्ष नेताबीच कोशी, गण्डकी र कर्णालीमा एमालेले, बाग्मती र लुम्बिनीमा माओवादीले, सुदूरपश्चिममा एकीकृत समाजवादीले र मधेशमा जसपाले नेतृत्व गर्ने समझदारी छ ।