=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
उपचुनावका लागि हिजो उम्मेदवारी मनोनयन दर्ता गराएकाविरुद्ध आज उजुरी दर्ता र जाँचबुझ हुने भएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने, दिउँसो ३ बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन पत्र र उजुरीको जाँचबुझ गरी निर्णय गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै भाेलि उम्मेदवारको नामावाली प्रकाशन, पर्सि नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिने कार्यसूची छ । आउँदो वैशाख १५ गते इलाम–२ र बझाङ प्रदेशसभा १ (क) मा उपचुनाव हुँदैछ । उपचुनावका लागि हिजो मनोनयन दर्ता भएको हो ।
विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३२ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । इलाम क्षेत्र नम्बर–२ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी २० जनाको उम्मेदवारी दर्ता भएको छ । संविधानसभा अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि उपचुनाव हुन लागेको हो ।
इलाम–२ मा नेकपा एमालेबाट सुहाङ नेम्वाङसहित नेपाली कांग्रेसबाट डम्बरबहादुर खड्का, नेकपा एकीकृत समाजवादीबाट जितबहादुर राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम, अर्का स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराउनुभएको छ । माओवादी केन्द्रले नेकपा एमालेलाई सघाउने भएका कारण उम्मेदवारी दर्ता गराएन ।
उपचुनावका लागि इलाम–२ मा ७९ मतदानस्थल र एकसय ४९ मतदान केन्द्र रहेको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा झण्डै एक लाख १५ हजार आठ सय मतदाता छन् ।
त्यस्तै बझाङ प्रदेशसभा–१ (क) को उपचुनावका लागि विभिन्न राजनीतिक दलबाट १२ जनाको उम्मेदवारी परेको छ । बझाङ प्रदेशसभा १ (क) बाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । आयोगले बझाङमा प्रदेशसभा सदस्य चुनावका लागि ७४ मतदानस्थल र ९३ मतदान केन्द्र तोकेको छ । त्यहाँ ६१ हजार सात सय ४८ जना मतदाता कायम भएका छन् ।