=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै


उपचुनाव भैरहेको इलाम र बझाङमा उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । इलामको प्रतिनिधिसभा क्षेत्र–२ तथा बझाङको प्रदेशसभा एक (क) मा अहिले मतदान भैरहेको हो । इलामका सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

त्यहाँ प्रमुख दलका र मुख्य प्रतिस्पर्धी मानिएका उम्मेदवारले मतदान गरिसकेका छन् । एमालेका उम्मेदवार सुहाङ नेम्वाङले महेन्द्ररत्न बहुमुखी क्याम्पसको ‘ग’ केन्द्रबाट, नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले महेन्द्ररत्न बहुमुखी क्याम्पसकै ‘क’ केन्द्रबाट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले माङसेबुङ–२ दहगाउँको जनता कल्याण आधारभुत विद्यालयको ‘ख’ केन्द्रबाट मतदान गर्नुभएको छ ।

स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ को सिंहदेबी मावि शुक्रबारे ‘क’ केन्द्रमा मतदान गर्नुभएको छ । इलाम —२ बाट प्रतिनिधि सभामा निर्वाचित सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ आज उपचुनाव भएको हो ।

यस्तै बझाङ प्रदेशसभा एक (क) मा पनि मतदाता उत्साहजनक रुपमा लामबद्ध भएर मतदान गरिरहेका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भैरहेको छ । बझाङ–१ (क) मा प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि आज उपचुनाव भएको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ ।