=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
सहकारीको रकम हिनामिनाका विषयमा छानबिन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा बिहान ९ बजेपछि शुरु हुनेछ । कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने प्रयास गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन ।
यसअघि अस्ति आइतवार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । हिजो कार्यदलको बैठक बसेन । गएको शनिवार बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल कांग्रेसका शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलको संयोजकमा कानुनमन्त्री एवम् एमालेका नेता पदम गिरी हुनुहुन्छ । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल रहनुभएको छ ।
नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा कांग्रेसको मागमा अहिलेसम्म सहमत भएका छैनन् । सहमति नजुट्दा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।
कांग्रेसले हिजो पनि संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुभएको छ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।