=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
मेक्सिकोका नागरिकले इतिहासमा पहिलो पटक राष्ट्रपतिमा महिलालाई निर्वाचित गरेका छन् । मतगणनामा क्लाउडिया शेनबाम लगभग ६० प्रतिशत मतका साथ विजयी भएको बीबीसीले जनाएको छ ।
मेक्सिको सिटीका पूर्व मेयर समेत रहनुभएकी शेनबामले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको देखिएको छ । निर्वाचन आयोगले अन्तिम परिणाम भने घोषणा गरेको छैन ।
अहिले निर्वाचित हुनुभएकी शेनबामले आउँदो अक्टोबरको १ तारिखदेखि कार्यभार सम्हाल्नुहुनेछ । अहिले मेक्सिकोभर उहाँका समर्थकले विजयको उत्सव मनाइरहेका खबरमा उल्लेख छ । ऊर्जा वैज्ञानिकसमेत रहनुभएकी शेनबामले मेक्सिकोका अहिलेका राष्ट्रपति लोपेज ओब्राडोरले गरेका राम्रा कामलाई निरन्तरता दिने प्रतिज्ञा गर्नुभएको छ ।
मेक्सिकोको दुई सय वर्षको प्रजातान्त्रिक इतिहासमा पहिलो महिला राष्ट्रपति बन्नु आफ्ना लागि मात्र नभई सारा मेक्सिकन महिलाका लागि गर्वको दिन भएको नवनिर्वाचित राष्ट्रपति शेनबामले बताउनुभएको छ ।
मेक्सिकोमा महिलाका लागि यो चुनावको नतिजालाई ठूलो परिवर्तनको रूपमा वर्णन गरिएको रोयटर्सले जनाएको छ । राष्ट्रपति पदमा उम्मेदवारी दिनुअघि शेनबाम मेक्सिको सिटीको पहिलो महिला मेयर हुनुहुन्थ्यो जुन देशको सबैभन्दा प्रभावशाली राजनीतिक पदहरूमध्ये एक हो । अहिलेसम्मका लगभग सबैजसो राष्ट्रपति मेक्सिको सिटीकै पूर्वमेयर रहेका छन् ।
यो चुनावका क्रममा मेक्सिकोमा फैलिएको दङ्गामा परेर अहिलेसम्म ३७ जनाको ज्यान गएको पुष्टि भएको छ । मेक्सिकोमा हिंस्रक तस्करहरूको समूहलाई नियन्त्रण गर्नु नै नवनिर्वाचित राष्ट्रपति शेनबामको मुख्य चुनौतीका रूपमा हेरिएको छ ।