६ मंसिर २०८१, बिहीबार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै


जनकपुरधाम  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभामा विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्तागठबन्धन फेरिएसँगै उनले बुधबार विश्वासको मत लिन लागेका हुन् ।

पछिल्लोपटक सत्तागठबन्धनमध्येका नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको हो ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस संसदीय दलका नेता एवं मधेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।