=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

विकासका योजना समयमा सम्पन्न हुनु आवश्यक: मुख्यमन्त्री सिंह


जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशमा विकासको धेरै सम्भावनाहरू भए पनि त्यसको खोज तथा सही व्यवस्थापन नभएका कारण मुलुकको समग्र विकासले गति नलिएको बताए ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र श्रम तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा भएको कार्यशालामा उनले मधेश प्रदेशको द्रुत आर्थिक विकासका लागि सञ्चालनमा रहेका राष्ट्रिय महत्वका योजनाहरूको निर्माणमा गति दिन आग्रह गर्दै वर्षौँसम्म योजनाहरू पुरा नहुँदा मुलुकको समग्र आर्थिक विकासमा नकारात्मक असर पारिरहेको बताए ।

मुख्यमन्त्री सिंहले मधेशलाई राजधानीसँग जोड्ने फाष्ट ट्रयाकको र हुलाकी राजमार्गको समयमा निर्माण भएको खण्डमा वर्षेनी रुपमा अरबौँको डिजेल तथा पेट्रोलको खपतमा कमी हुने भएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको भने ।

मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले मधेश प्रदेशको आर्थिक विकासका लागि कृषि, पर्यटन तथा उद्योगको विकासका लागि ठोस नीति बनाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहन प्रसाद साहले मधेश प्रदेशको समृद्धि र विकासका लागि संघ, प्रदेश तथा स्थानीय तहका बीचमा नीतिगत सुधारका साथै कार्यगत सहकार्य जरुरी रहेको बताए ।

कार्यक्रममा मधेश प्रदेशका नीति तथा योजना आयोगका सदस्यहरु डा. शिला मिश्र, डा. राज कुमार सिंह, डा. रिना यादव लगायतले मधेश प्रदेशको समृद्धि तथा विकासका लागि क्षेत्रगत रुपमा कार्यपत्र प्रस्तुत गरेको थियो ।

मधेश प्रदेशका प्रमुख सचिव लोकनाथ पौडेल, श्रम तथा यातायात मन्त्रालयका सचिव सुरेन्द्र पौडेल लगायतका वक्ताहरूले कानूनी जटिलतामा सुधार गरेर अघि बढ्न जरुरी रहेको बताए ।