१९ माघ २०८१, शनिबार

‘हतारमा संविधान बनायौँ, क्षमा चाहन्छुः शेखर कोइराला’


विराटनगर । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले संविधान हतारमा बनाउन आफ्नो पनि संलग्नता रहेको र धेरै त्रुटि भएको भन्दै क्षमा मागेका छन् । विराटनगरमा बिहीबार नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन र नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको संविधान संशोधन, आवश्यकता र चुनौती विषयक अन्तरक्रियामा कोइरालाले यस्तो बताएका हुन् । संविधानसभाबाट संविधान जारी गर्दा हतारमा भएको र धेरै त्रुटि भएको भन्दै उनले क्षमा मागे । ‘धेरै कुराहरू संविधानमा संशोधन गर्नुपर्ने छ । हतारमा संविधान बनायौँ । सरी फर द्‍याट । म तपाईँहरूसँग क्षमा माग्छु । म पनि ड्राफ्टिङ कमिटीको मान्छे भएकोले क्षमा माग्न त पाइन्छ,’ कोइरालाले भने । उनले संविधान जारी गर्नुभन्दा अगाडि जनतामा गएर ल्याएको सुझावको पोका अहिलेसम्म नखुलेको भन्दै असन्तुष्टि जनाए । ‘त्यो सुझावको पोका अहिलेसम्म खुलेको छैन । त्यहाँ हामीले सोचेको भन्दा भिन्न विषय थिए जस्तो लाग्छ । संविधान हामीले सोचेको भन्दा भिन्न बनायौँ कि भन्ने लाग्छ,’ उनले भने । उनले संविधानमा स्थानीय तहको अधिकारबारे उल्लेखित विषयहरू युरोपियन युनियनको कपिपेस्ट गरेर राखेको दाबी गरे । ‘त्यहाँ मिसम्याच भयो । युरोपियन युनियनको कुनै कन्ट्रीको कपी-पेस्ट गरेर राखियो,’ कोइरालाले भने । उनले अहिले नेपाली कांग्रेस सेकेण्ड पार्टीको रूपमा काम गरिरहनु विडम्बना भएको पनि बताए । ‘प्रधानमन्त्री, अर्थमन्त्री, राष्ट्र बैंकको गभर्नर, योजना आयोगको उपाध्यक्ष, लगानी बोर्डको अध्यक्ष, सम्पत्ति शुद्धीकरण सबै कम्युनिस्टहरुको हातमा छ । कांग्रेस बोल्न सकिरहेको छैन । किन बोल्न सकिरहेको छैन ?,’ उनले प्रश्न गरे । उनले अदालत शाही कालमा जति पनि स्वतन्त्र नरहेको दाबी गरे । ‘राजाको कार्यकालमा शाही आयोग खारेज गरेको होइन अदालतले ? त्यत्रो राजा ज्ञानेन्द्रको जगजगी भएको बेलामा ? शाही आयोग खारेज गर्ने त न्यायाधीश नै हुनुहुन्थ्यो नि त । अहिले त्यो आँट उहाँहरूको छैन । किन ?,’ उनले नियुक्तिदेखि नै भागबण्डा हुने गरेको कारण यस्तो भएको उल्लेख गर्दै भने ।