=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज थियो । सन् २०२० को पछिल्ल्लो चुनावमा पनि आपले सरप्राइज दियो । भारतीय जनता पार्टी (बीजेपी)ले सबै शक्ति लगाउँदा पनि आपले एकल ६२ सीट ल्याएर देखाइदियो ।
यही फेब्रुअरी ५ मा भएको चुनावमा पनि आपले सरप्राइज दियो, तर यो सरप्राइज अरु बेला जस्तो आपलाई खुशी बनाएर बीजेपीलाई दुःखी बनाउने सरप्राइज थिएन । यो आपलाई तनाव दिने र आपको नेतृत्वलाई तनाव दिने सरप्राइज हो । आपले दशक लामो सत्तामा पहिलो पटक दिल्लीको सरकार नबनाउने पक्का भयो । बहुमत बढी सीट जितेर बीजेपीको मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । आपका संस्थापक तथा दिल्लीका पूर्वमन्त्री अरबिन्द केजरिवालले चुनाव हारेका छन् । यद्यपि दिल्लीकी मुख्यमन्त्री आतिशीले भने चुनाव जितेकी छन् ।
आपको चुनावी हारमा इन्डिया गठबन्धनका दलहरुले आप र कंग्रेसलाई आलोचना गरेका छन् । जम्मु काश्मीर क्षेत्रका नेता तथा मुख्यमन्त्री ओमार अब्लुल्लाले दुइटै दललाई संकेत गरेर सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अझै आफू-आफूमा झगडा गर्दै गर ।’
खासमा दिल्लीमा गठबन्धन गरेर जाने कंग्रेसको प्रस्ताव केजरिवालको दलले मानेको थिएन । यही मुद्दालाई लिएर अहिले धेरै आलोचना सुरु भएको छ । गठबन्धन नहुनु र आन्तरिक गुट तथा लामो सत्ताको कारणले आप कमजोर बनेको बताइएको छ । हालसालै आफ्नो चुनाव क्षेत्रमा अबको मुख्यमन्त्री को हो भन्ने प्रश्नमा केजरिवालले आफू नै हो भनेका थिए । यसले वर्तमान मुख्यमन्त्री आतिशी पक्षधरले असहयोग गरेको बताइन्छ ।
केजरिवाललाई चुनाव हराएका प्रवेश वर्मा साना उम्मेदवार होइनन् । पश्चिम दिल्ली चुनाव क्षेत्रबाट लोकसभा सदस्य भइसकेका उनी पूर्वमुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुन् । साहिव सन् १९९६ बाट १९९८ मा बीजेपीबाट दिल्लीको मुख्यमन्त्री भएका थिए । उनका छोरा ४७ वर्षका प्रवेशले केजरिवाललाई हराउन सफल भएका छन् ।
प्रवेश र केजरिवालको चुनावी मोर्चा एकै साल सुरु भएको हो । प्रवेशले सन् २०१३ मा दिल्लीको मेरौली चुनाव क्षेत्रबाट चुनाव जितेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सन् २०१४ र २०१९ मा उनी पश्चिम दिल्लीको चुनाव क्षेत्रबाट भारी मतले संघ सांसद भएका थिए । केजरिवालसँग चुनाव लड्नु अगाडि उनले नारा लगाएका थिए, ‘केजरिवाल हटाऔं, देश बचाऔ’ र यही नारामा उनी सफल भएका छन् ।
२७ वर्षपछि दिल्लीको मुख्यमन्त्रीको ओहोदामा बलियो बहुमतसहित बीजेपी आउने निश्चित भएको छ । योसँगै बीजेपीबाट को मुख्यमन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार मैदानमा विभिन्न अनुहारहरु छन् । त्यसमा एक अनुहार प्रवेश वर्मा हुन् । उनीपछिका अनुहारहरुमा दुश्यन्त गौतम, स्मृति इरानी, शुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलगायतका नामहरु रहेका छन् ।
अरविन्द केजरीवालले १५ वर्ष लगातार मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई हराएर २०१३ मा मुख्यमन्त्री बनेका थिए । यसपटक केजरीवाललाई हराएका प्रवेश बर्मा मुख्यमन्त्रीका दाबेदार हुन् । अर्का दाबेदार हरिश खुराना बिजेपीका पहिलो मुख्यमन्त्री मदनलाल खुरानाका छोरा हुन् ।
दिल्लीमा बिजेपीको तेस्रो र अहिलेसम्मकी अन्तिम मुख्यमन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराज गत वर्षको लोकसभा निर्वाचनमा दिल्लीबाट जितेर केन्द्रीय सांसद बनेकी थिइन् । उनलाई मुख्यमन्त्री पठाउन सकने चर्चा पनि छ । यद्यपी मुख्यमन्त्रीको टुंगो भाजपाको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ ।