२८ फाल्गुन २०८१, बुधबार

एक दशकमै दिल्लीबाट बढारियो आपः २७ वर्षपछिको बीजेपी सत्तामा को बन्दैछ मुख्यमन्त्री ?


भारतको संघीय राजधानीबाट नयाँ शक्तिको रुपमा उदाएको आम आदमी पार्टी (आप)ले सरप्राइज दिँदै आएको छ । जस्तो सन् २०१५ मा भएको दिल्ली चुनावमा ७० सीटमा आमले एकल ६७ स्थान जित्यो । सन् २०१३ बाट राजनीतिमा आएको आपको यो रोचक सरप्राइज थियो । सन् २०२० को पछिल्ल्लो चुनावमा पनि आपले सरप्राइज दियो । भारतीय जनता पार्टी (बीजेपी)ले सबै शक्ति लगाउँदा पनि आपले एकल ६२ सीट ल्याएर देखाइदियो ।

यही फेब्रुअरी ५ मा भएको चुनावमा पनि आपले सरप्राइज दियो, तर यो सरप्राइज अरु बेला जस्तो आपलाई खुशी बनाएर बीजेपीलाई दुःखी बनाउने सरप्राइज थिएन । यो आपलाई तनाव दिने र आपको नेतृत्वलाई तनाव दिने सरप्राइज हो । आपले दशक लामो सत्तामा पहिलो पटक दिल्लीको सरकार नबनाउने पक्का भयो । बहुमत बढी सीट जितेर बीजेपीको मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । आपका संस्थापक तथा दिल्लीका पूर्वमन्त्री अरबिन्द केजरिवालले चुनाव हारेका छन् । यद्यपि दिल्लीकी मुख्यमन्त्री आतिशीले भने चुनाव जितेकी छन् ।

आपको चुनावी हारमा इन्डिया गठबन्धनका दलहरुले आप र कंग्रेसलाई आलोचना गरेका छन् । जम्मु काश्मीर क्षेत्रका नेता तथा मुख्यमन्त्री ओमार अब्लुल्लाले दुइटै दललाई संकेत गरेर सामाजिक सञ्जाल एक्समा भनेका छन्, ‘अझै आफू-आफूमा झगडा गर्दै गर ।’

खासमा दिल्लीमा गठबन्धन गरेर जाने कंग्रेसको प्रस्ताव केजरिवालको दलले मानेको थिएन । यही मुद्दालाई लिएर अहिले धेरै आलोचना सुरु भएको छ । गठबन्धन नहुनु र आन्तरिक गुट तथा लामो सत्ताको कारणले आप कमजोर बनेको बताइएको छ । हालसालै आफ्नो चुनाव क्षेत्रमा अबको मुख्यमन्त्री को हो भन्ने प्रश्नमा केजरिवालले आफू नै हो भनेका थिए । यसले वर्तमान मुख्यमन्त्री आतिशी पक्षधरले असहयोग गरेको बताइन्छ ।

को हुन् केजरिवाललाई हराउने वर्मा ?

केजरिवाललाई चुनाव हराएका प्रवेश वर्मा साना उम्मेदवार होइनन् । पश्चिम दिल्ली चुनाव क्षेत्रबाट लोकसभा सदस्य भइसकेका उनी पूर्वमुख्यमन्त्री साहिवसिंह वर्माका छोरा हुन् । साहिव सन् १९९६ बाट १९९८ मा बीजेपीबाट दिल्लीको मुख्यमन्त्री भएका थिए । उनका छोरा ४७ वर्षका प्रवेशले केजरिवाललाई हराउन सफल भएका छन् ।

प्रवेश र केजरिवालको चुनावी मोर्चा एकै साल सुरु भएको हो । प्रवेशले सन् २०१३ मा दिल्लीको मेरौली चुनाव क्षेत्रबाट चुनाव जितेको भारतीय मिडिया टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ । सन् २०१४ र २०१९ मा उनी पश्चिम दिल्लीको चुनाव क्षेत्रबाट भारी मतले संघ सांसद भएका थिए । केजरिवालसँग चुनाव लड्नु अगाडि उनले नारा लगाएका थिए, ‘केजरिवाल हटाऔं, देश बचाऔ’ र यही नारामा उनी सफल भएका छन् ।

को बन्दैछ बीजेपीको दिल्लीको मुख्यमन्त्री ?

२७ वर्षपछि दिल्लीको मुख्यमन्त्रीको ओहोदामा बलियो बहुमतसहित बीजेपी आउने निश्चित भएको छ । योसँगै बीजेपीबाट को मुख्यमन्त्री हुने भन्ने चर्चा सुरु भएको छ । भारतीय मिडिया इकोनोमिक टाइम्सका अनुसार मैदानमा विभिन्न अनुहारहरु छन् । त्यसमा एक अनुहार प्रवेश वर्मा हुन् । उनीपछिका अनुहारहरुमा दुश्यन्त गौतम, स्मृति इरानी, शुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलगायतका नामहरु रहेका छन् ।

अरविन्द केजरीवालले १५ वर्ष लगातार मुख्यमन्त्री बनेकी शीला दीक्षितलाई हराएर २०१३ मा मुख्यमन्त्री बनेका थिए । यसपटक केजरीवाललाई हराएका प्रवेश बर्मा मुख्यमन्त्रीका दाबेदार हुन् । अर्का दाबेदार हरिश खुराना बिजेपीका पहिलो मुख्यमन्त्री मदनलाल खुरानाका छोरा हुन् ।

दिल्लीमा बिजेपीको तेस्रो र अहिलेसम्मकी अन्तिम मुख्यमन्त्री सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराज गत वर्षको लोकसभा निर्वाचनमा दिल्लीबाट जितेर केन्द्रीय सांसद बनेकी थिइन् । उनलाई मुख्यमन्त्री पठाउन सकने चर्चा पनि छ । यद्यपी मुख्यमन्त्रीको टुंगो भाजपाको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ ।