=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
नयाँदिल्लीको सत्तामा २७ वर्षपछि पुनरागमन गरेको भारतीय जनता पार्टी (भाजपा)ले आज मुख्यमन्त्री चयन गर्दैछ । नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण समारोह विहीबार मध्याह्न रामलिला मैदानमा हुने छ ।
नयाँ मुख्यमन्त्रीबारे छलफल गर्न आज दिउँसो भाजपा संसदीय दलको बैठक बसेको थियो । सो बैठकले रविशंकर प्रसाद र पार्टीका राष्ट्रिय सचिवसमेत रहेका ओमप्रकाश धनखडलाई दिल्ली विधानसभामा भाजपा दलको नेता चुन्न पर्यवेक्षक तोकेको छ । उनीहरुसहित आज साँझ ७ बजे बस्ने भाजपाको दिल्ली विधानसभा संसदीय दलको बैठकले दलको नेता चुन्ने छ र सोही नेता मुख्यमन्त्री नियुक्त हुने छन् ।
भारतीय मिडियाहरुका अनुसार प्रवेश शर्मा, रेखा गुप्ता, शिखा राय, विजेन्द्र गुप्ता, आशिष सुद, सतिश उपाध्याय लगायत मुख्यमन्त्रीको आकांक्षी छन् । उनीहरुमध्ये को मुख्यमन्त्री बल्ला भन्ने चासो छ ।
केही मिडियाले भारत नयाँदिल्लीको मुख्यमन्त्रीमा भाजपाकी रेखा गुप्ता नियुक्त हुने सम्भावना रहेको उल्लेख गरेका छन् । दैनिक भाष्करले हिन्दु स्वयंसवेक संघ (आरएसएस)बाट ५० वर्षीया रेखा गुप्ताको नाम प्रस्तावित भएको र भाजपाका नेताहरु उनलाई मुख्यमन्त्री बनाउन सहमत पनि भएको उल्लेख गरेको छ ।
गुप्ता शालिमारबागबाट निर्वाचित भएकी थिइन् । उनी यसअघि दिल्ली नगर निगमको मेयर समेत भइसकेकी थिइन् । उनी भाजपा दिल्लीकी महासचिव र महिला मोर्चाको उपाध्यक्ष पनि हुन् ।
तर आजतकले भने प्रवेश बर्मा मुख्यमन्त्री बन्ने बढी सम्भावना रहेको जनाएको छ ।
उनी दिल्लीको पूर्वमुख्यमन्त्री साहिब सिंह बर्माका छोरा हुन् । उनले आम आदमी पार्टी (आप)का संस्थापक अरविन्द केजरीवाललाई चुनावमा हराएका थिए ।
यद्यपि केही मिडियाहरुले भने प्रवेश बर्मामाथि आपराधिक मामलाको एक मुद्दा रहेकाले उनी मुख्यमन्त्री बन्ने सम्भावना कम रहेको उल्लेख गरेका छन् ।
भारतको केन्द्रीय राजधानी पर्ने नयाँदिल्ली प्रदेशको सत्ता दुई कार्यकालसम्म आपको हातमा थियो । तर हालै सम्पन्न विधानसभा निर्वाचनमा आपलाई हराउँदै भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्षपछि सत्तामा पुनरागमन गरेको थियो ।