=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

राष्ट्रपति पद छाड्न जेलेन्स्कीले राखेका शर्त


युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनमा शान्ति सुनिश्चित भए आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्।

आइतबार किभमा पत्रकारहरूसँगको कुराकानीमा जेलेन्स्कीले राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्। त्यसका लागि युक्रेनमा शान्ति र यसको सुरक्षा सुनिश्चित हुनुपर्ने तथा नेटो सैन्य गठबन्धनमा समावेश गर्नुपर्ने सर्त राखेका छन्।

युक्रेनमा सोमबारदेखि युरोपेली नेताहरूको बैठक सुरू हुँदैछ।  त्यसको तयारीबारे प्रश्न गर्दा पत्रकारहरूले उनको राष्ट्रपति पदबारे पनि सोधेका थिए।

त्यसको जबाफमा उनले युक्रेनमा शान्ति र नेटो सैन्य गठबन्धनको बदलामा राष्ट्रपति पद छाड्न तयार रहेको बताएका हुन्।

‘नेटो सैन्य गठबन्धनमा युक्रेनलाई समावेश गर्ने हो भने म तत्काल राष्ट्रपति पद छाड्न सक्छु,’ उनले भने।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई यसअघि ‘तानाशाह’ भनेका थिए। आइतबार पत्रकारहरूसँग जेलेन्स्कीले आफू ट्रम्पले भनेको जस्तो तानाशाह पनि नभएको बताए।

युक्रेनमा सन् २०१९को चुनावबाट जेलेन्स्की राष्ट्रपति चुनिएका थिए। उनको कार्यकाल २०२४ मा सकिने थियो। तर युक्रेन अहिले रूससँग युद्धमा रहेका कारण त्यहाँ चुनाव  हुन सकेको छैन।

जेलेन्स्कीले युक्रेनको सुरक्षाका लागि युरोप र अमेरिका दुवै आवश्यक रहेको पनि बताएका छन्। उनले अमेरिकासँग खनिज सम्झौता गर्न पनि आफू तयार भएको तर रूसले युक्रेनमा आगामी दिनहरूमा आक्रमण नगर्ने निश्चित हुनुपर्ने बताएका छन्।

अमेरिकाले रूसविरूद्ध लड्न युक्रेनलाई अहिलेसम्म गरेको सहायताको बदलामा त्यहाँ रहेका खनिजहरूमध्ये आधामा आफ्नो स्वामित्व मागेको थियो।

युक्रेनले सुरक्षाको ज्ञारेन्टी नभएको भन्दै खनिजमा स्वामित्व दिने प्रस्ताव सुरूमा अस्वीकार गरेको थियो। पछि ट्रम्पले युक्रेनलाई नै बाइपास गरेर त्यहाँको युद्ध अन्त्य गर्न रूससँग संवाद अघि बढाएका थिए।

यसले किभ र युरोपेली मुलुकहरूहरूमा ट्रम्पले रूसलाई फाइदा हुनेगरी सम्झौता गर्न सक्नेछन् भनेर संशय पैदा भएको थियो।

त्यसपछि युरोपेली नेताहरुले जेलेन्स्कीलाई सम्झौता गर्न दबाब दिएको न्युयोर्क टाइम्सको समाचारमा उल्लेख छ। उनीहरूले युद्धग्रस्त युक्रेनलाई नभई अमेरिकाले रूसको पक्ष लिन सक्ने खतराबारे जेलेन्स्कीलाई सचेत गराएका थिए।

जेलेन्स्कीले अमेरिकाको प्रस्ताव अस्वीकार गरेपछि पछिल्ला दिनमा ट्रम्पले उनीमाथि व्यक्तिगत आलोचना नै गरेर उनीमाथि दबाब बढाएका थिए। पछिल्लो दिनमा त ट्रम्पले रूसी आक्रमणपछि युक्रेनमा महत्वपूर्ण भूमिका खेलेको स्याटेलाइट स्टारलिंक पनि पहुँच कटौती गर्ने धम्की दिएको भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अमेरिकालाई खनिजमा स्वामित्व प्रदान गरे त्यो नै  युक्रेनका लागि सुरक्षा सुरक्षा ज्ञारेन्टी हुने अमेरिकी विदेशमन्त्र मार्को रूबिओ युक्रेनी अधिकारीहरूलाई बताएका छन्।

युक्रेनको खनिज क्षेत्रमा अमेरिकी कम्पनीले काम गर्न थालेपछि रसियाले युक्रेनमाथि आक्रमण गर्न नसक्ने अमेरिकी अधिकारीहरूले भन्दै आएका छन्। तर जेलेन्स्कीले यो तर्कको प्रतिवाद गर्दै भनेका छन्- त्यस्तो हुन्थ्यो भने रूसले पूर्वी युक्रेनमा आक्रमण नै गर्ने थिएन जहाँ युद्धअगाडि धेरै अमेरिकी कम्पनीहरू काम गर्थे।

उनले युक्रेनले खनिज पदार्थमा स्वामित्व दिएपछि अमेरिकाले त्यहाँ प्लान्ट खोल्ने र त्यो नै युक्रेनको सुरक्षा हुने बताएका थिए।

चौतर्फी दबाबपछि युक्रेन अमेरिकासँग खनिज सम्झौताको नजिक पुगेका छन्।