२४ चैत्र २०८१, सोमबार

सांसदले उठाए घिसिङलाई शून्य नम्बर दिएको र रंगशालामा दर्शक पिटेको घटना, सभामुखको रूलिङ


प्रतिनिधि सभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलका सांसदहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि पटक-पटक स्पष्टीकरण सोधिएको र कार्यसम्पादन मूल्याङ्कनमा शून्य नम्बर दिइएकोबारे सरकारसँग जबाफ मागेका छन्।

माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नाफामा गइरहेको प्राधिकरणका कार्यकारी निर्देशकलाई शून्य नम्बर किन दिइयो भन्ने प्रश्न सरकारलाई सोधेका हुन्।

साथै उनले घिसिङमाथि पटकपटक स्पष्टीकरण सोध्ने काम भएकोमा विरोध गरेका छन्। ऊर्जा मन्त्रालयले घिसिङलाई पटक पटक स्पष्टीकरण सोध्दै आएको छ भने घिसिङले पनि स्पष्टीकरण दिँदै आइरहेका छन्।

राप्रपा सांसद ज्ञानेन्द्र शाहीले घिसिङलाई प्राधिकरणबाट हटाएमा सडक र सदनमा विरोध गरिने चेतावनी दिए। साथै उनले दशरथ रंगशालामा दर्शक कुटिएको घटनाबारे प्रसंग उठाउँदै उक्त घटनामा संलग्नलाई कारबाही माग गरेका छन्।

केपी ओली कपको फाइनलमा एमाले कार्यकर्ताले दर्शकलाई ओलीविरूद्ध नाराबाजी गरेको भन्दै मुक्का प्रहार गरेका थिए।

रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्री ओलीमाथि प्रश्न सोधेका दुई पत्रकारको पास संसद सचिवालयले निलम्बन गरेकोमा विरोध गरेका छन्।

सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयमाथि जबाफ दिन सरकारलाई रूलिङ गरेका छन्।