=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

ओली सरकारका कारण देश दुर्घटनाको खतरामा परेको भन्दै माओवादी नेताहरू काठमाडौँ फर्कँदै


फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किन लागेका छन् । शबिनार रौतहटमा बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले लौकाहामा सभा गरेर फागुन महिनाभरि तय गरेको ‘जनतासँग माओवादी जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको हो ।

केपी ओली नेतृत्वको जनविरोधी गतिविधि, भ्रष्टाचारको संरक्षणका कारण राजावादीहरू सलवलाएकाले संसद् र सडकको मोर्चालाई बलियो बनाउन अभियान स्थगित गरिएको उपमहासचिव मातृका यादवले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न आइतबार ३ बजे पदाधिकारी बैठक बोलाएको यादवले रातोपटीलाई बताए ।

‘केपी ओलीको जनविरोधी गतिविधिका कारण प्रतिगामी शक्तिहरू सलबलाएका छन् । यो सरकारका कारण देश दुर्घटनामा पर्ने खतरा देखियो । हामी अभियानमा मात्रै केन्द्रित हुँदा सदन र सडकको मोर्चा प्रभावकारी हुन सकेन । प्रतिगामी शक्तिविरुद्ध सडक र सदनमा प्रभावकारी बनाउन अभियान स्थगित गरिएको हो’, उनले भने, ‘आगामी अभियानको स्वरूप परिवर्तन हुन्छ । बिचबिचमा ब्रेक गरेर बाँकी अभियान चलाउँछौँ ।’

यादवले राजावादीको गतिविधिबारे खासै छलफल नभएको भन्दै ओली सरकारको जनविरोधी गतिविधिविरुद्ध विपक्षी दलहरू, समाजवादी मोर्चा र सदनलाई प्रभावकारी बनाउन बैठक बोलाएको उनले दाबी गरे ।