=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

रूस-युक्रेनको युद्धका कारण ह्वात्तै बढ्यो अमेरिकी हतियारको व्यापार


रूस र युक्रेनको युद्धको कारण अमेरिकी हतियारको व्यापारमा व्यापक वृद्धि भएको छ।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानले (सिप्री) आइतबार जारी गरेको प्रतिवेदन अनुसार सन् २०२० देखि २०२४ सम्मको पाँच वर्षमा अमेरिकाको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा २० प्रतिशतभन्दा धेरैले बढेको छ।

रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि हमला गरेका कारणले पछिल्लो पाँच वर्षमा अन्तर्राष्ट्रिय हतियार व्यापारको ४३ प्रतिशत हिस्सा अमेरिकाले ओगटेको भनेर सिप्रीको प्रतिवेदनलाई उद्दृत गर्दै विभिन्न पश्चिमा मिडियाले लेखेका छन्।

रूससँग लड्न अमेरिकाले आफ्ना हतियार दिएको र युरोपेली देशहरूले पनि धेरैजसो अमेरिकी हतियार नै किनेर दिएकाले अमेरिकी हतियारको व्यापार बढेको हो।

त्यस्तै, अरू बेलाको विश्वको दोस्रो ठूलो हतियार निर्यातकर्ता रूसको सबै हतियार युक्रेनमाथि प्रहार गर्न नै खर्चेको कारण पनि रूसले अरू देशलाई हतियार बेच्न पाएन। त्यसैले पनि अमेरिकी हतियारको व्यापार हिस्सा यो अवधिमा बढेको हो।

सिप्रीको प्रतिवेदन अनुसार सो अवधिमा युक्रेन सबभन्दा ठूलो हतियार आयातकर्ता रह्यो।

अमेरिका लगायत पश्चिमा देशले दिएको सहायता रकम पनि ठूलो परिमाणमा हतियार किन्न खर्चेकाले पछिल्लो पाँच वर्षमा उसको आयात १०० गुणाले बढेको छ।

युरोपेली देशहरूले पनि १५५ प्रतिशतले हतियार आयात बढाएका छन्। रूसले युक्रेन कब्जा गरे अरू युरोपेली देशमा पनि हमला गर्ने डरले समेत उनीहरूले आफ्नो सुरक्षाका लागि हतियार धेरै किनेका हुन्। त्यस्तै उनीहरूले कतिपय हतियार किनेर युक्रेनलाई दिएकाले पनि यो परिमाण बढेको हो।

युक्रेनलाई अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनले दिएको सैन्य सहायताको कडा आलोचना गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको दलिललाई पनि यो प्रतिवेदनले केही हदसम्म गलत देखाएको छ।

पछिल्लो समय युक्रेनलाई सबै खाले सैन्य सहायता गरेका ट्रम्पले सित्तैमा युक्रेनलाई हतियार दिएर अमेरिकालाई घाटा भएको दाबी गर्छन्। तर यो प्रतिवेदनले भने युक्रेन युद्धका कारण अमेरिकी हतियार उत्पादकलाई फाइदा भएको देखाएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले दिएको सैन्य सहायताले अमेरिकालाई पनि फाइदा भएको बताउने गर्छन्। अमेरिकाले दिने सबै हतियार अमेरिकी नै भएकाले सो सैन्य सहायताले अमेरिकी अर्थतन्त्रलाई नै मद्दत गर्छ भन्दै उनले बाइडेनकै कार्यकालको बेला पनि तर्क गर्थे। यो प्रतिवेदनले उनको सो तर्क सही भएको देखाएको छ।

अर्कोतर्फ रूसले आफ्ना हतियार युक्रेनसँग खपत गरेकै कारण फ्रान्सले रूसलाई उछिनेर दोस्रो ठूलो निर्यातकर्ता बनेको पनि सो प्रतिवेदनले देखाएको छ।

सो अवधिमा रूसको हतियार निर्यात अघिल्लो पाँच वर्षको तुलनामा ६४ प्रतिशतले घटेको छ। फ्रान्स दोस्रो ठूलो निर्यातकर्ता भए पनि अमेरिकाको तुलनामा उसको नरियात एकदमै थोरै छ। अमेरिकाले फ्रान्सकोभन्दा चार गुणाभन्दा धेरै हतियार बेचेको देखिन्छ।

युक्रेनमाथि हमला गर्नु अघिका दुई वर्षमा पनि रूसको हतियार निर्यात घटेको सो प्रतिवेदनले देखाएको छ। यसको मुख्य कारण रूसी हतियारको सबभन्दा ठूला ग्राहक चीन र भारतले बिस्तारै रूसी हतियार कम किन्न थालेकाले पनि हो।

भारतले पछिल्लो समय बिस्तारै अमेरिका लगायत पश्चिमा हतियारको आयात बढाउन थालेको छ। चीनले भने पछिल्ला वर्षमा आफ्ना लागि चाहिने हतियार आफै बनाउन थालेको छ। त्यसैले पनि सो अवधिमा चीनको हतियार आयात ६४ प्रतिशतले घटेको छ। रूसले युद्ध लडिरहेका कारण चीनले चाहे पनि रूसले हतियार बेच्न नसक्ने भएकाले पनि चीनको हतियार आयात घटेको हुनसक्छ।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)