=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

दुर्गा प्रसाईंले भने- राजाले राप्रपाबाट आश नगरे हुन्छ


मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणालाई लक्ष्य गर्दै राजा र हिन्दुराष्ट्रको एजेन्डा छाड्न आग्रह गरेका छन्।

‘राजेन्द्र र धवल दाइलाई भन्छु- तपाईंहरू आजदेखि राजा र हिन्दुअधिराज्य भनेर नभन्नुस्। त्यो माग हामीले उठाएको हो। पानसमा दियो बालेर राजालाई सडकमा ल्याउने काम त दुर्गा प्रसाईंको अभियानले गरेको हो नि त, त्योभन्दा अघि राजा त मन्दिरमा मात्रै जानुहुन्थ्यो, हाम्रो अभियानपछि आमजनतामा आउनुभएको हो,’ प्रसाईंले आफ्नै युटुब च्यानलमा राखेको भिडिओमा भनेका छन्।

आफूले भुइँ मानिसका एजेन्डा बोकेको र त्यो राप्रपाले लिन खोजेको प्रसाईंले दाबी गरे।

‘राप्रपाले एजेन्डा देखाउने तर मन्त्री खाने हो,’ उनले भने, ‘राजाप्रति माया छ भने सदनबाट राजीनामा दिएर आउनुस्। नत्र जनताले कसरी पत्याउँछन् उहाँहरूलाई? नवराज सुवेदी राप्रपाकै सदस्य हुनुहुँदो रहेछ, तर छाडिदिनुभयो।’

८६ वर्षीय नवराज सुवेदीको नेतृत्वमा राजसंस्था फर्काउने क्रान्ति हुन्छ त भनेर सोधिएको प्रश्नमा जबाफ दिँदै प्रसाईंले भने, ‘मैले हिजोको स्थिति देखेपछि- त्यहाँ पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनी निदाउँदै गरेको, कार्यक्रम सुरू भएपछि विक्रम पाण्डे हिँडेको देख्दा राजाले आश नगर्दा हुन्छ, राजाले यिनीहरूबाट आश नगर्दा हुन्छ।’

उनले अहिलेको व्यवस्था परिवर्तन हुने दाबी पनि गरेका छन्।

व्यवस्था परिवर्तन छिट्टै भने नहुने प्रसाईंले बताए। ‘प्रचण्डलाई १२ वर्ष लागेको थियो, केपी ओलीलाई ४० वर्ष लागेको थियो, हामी दुई पुगेर तीन वर्ष लाग्दैछौं। तीन वर्षमा लाखौं मानिस सडकमा उत्रने भइसके, १५ गते मानिस सडकमा उत्रँदैछन्। यो लडाइँ राजा र जनताबीचको पर्खाल भत्किसकेको छ,’ उनले भने।

आफूले बोलेका एजेन्डा पूर्वराजा शाहले उठान गर्दै आएको दाबी पनि प्रसाईंको छ। पूर्वराजाले साथ दिएकै कारण पानसमा बत्ति बालेर कार्यक्रम गरिएको उनले बताए।

उनले १५ गते कार्यक्रम गरेर काठमाडौंमा आन्दोलनको थालनी गरिने बताए। ‘चैत १५ गते गणतन्त्रवादीहरूले पनि आफ्नो शक्ति देखाउँदा हुन्छ,’ उनले भने।

राप्रपाको मंगलबार बसेको कार्यसम्पादन समिति बैठकले अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा राजसंस्थालगायत विभिन्न एजेन्डामा आन्दोलन गर्ने निर्णय गरेको छ।

तर प्रसाईंले राप्रपा लगायतलाई पनि आफ्नो अभियानमा जोडिन भनेका छन्। राप्रपाले चैत १२ गते आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ।

प्रसाईंको आह्वानमा गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं फर्किंदा स्वागत र प्रदर्शन भएको थियो। त्यो कार्यक्रमलाई राप्रपा र राप्रपा नेपालसहित विभिन्न अभियानले समर्थन जनाएका थिए। पूर्वराजालाई स्वागत गर्न राप्रपा अध्यक्ष लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका थिए।

तर आफूले गरेको कार्यक्रममा राप्रपा र राप्रपा नेपालले जस लिन खोजेको भन्दै प्रसाईंले आपत्ति जनाएका थिए। फागुन २७ गते पत्रकार सम्मेलन गर्दै प्रसाईंले लिङ्देन र थापालाई कटाक्ष गरेका थिए।

‘राजसंस्था र हिन्दु अधिराज्यलाई खोलामा बगाएर समुन्द्रमा तिलाञ्जली दिने, अनि अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्नलाई ए हामीले गरेको, काठमाडौं महानगरमा गएर पैसा तिरेर हामीले गरेको, अनि चैत १ गतेदेखि आन्दोलन सुरू गरिहालौं, दुर्गा प्रसाई आउनुपर्‍यो हामीसँग मिल्नुपर्‍यो। उहाँहरूले मलाई गोठालोजस्तो पो सम्झनुभएको छ,’ प्रसाईंले भनेका थिए।

प्रसाईंले आफू पूर्वराजासँगै संगत गर्ने पनि बताएका थिए।

‘म संगत गर्दा राजाको गर्छु, आन्दोलन गर्नुपर्छ भने राजासँग मिलेर गर्छु, गोठालाहरूसँग सडकमा गएर नाटक देखाउँदिनँ,’ प्रसाईंले भने, ‘यो कुरा सबैलाई हेक्का रहोस्। म कसैको गोठालो होइन। राजाले पनि धैर्य भएर सोच्नुहोला। तपाईंले कलियुगमा दुर्गा प्रसाईंजत्तिको अर्जुन भेट्टाउनुहुन्न। तपाईंले सारथीहरू देखिसक्नुभयो। गणतन्त्रमा जाने भोज खाने, केपी शर्मा ओलीसँग फोन गर्ने, माहोल बन्यो भनेदेखि परिहाल्छ कि भनेर ढोक्सा थाप्ने।’