काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताएका हुन् । व्यक्तिगत अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनैपनि कानुनी प्रावधानको आफ्नो पार्टीले विरोध गर्ने उनको भनाइ छ ।
शर्माले इन्टेलिजेन्ससम्बन्धी प्रस्तावित विधेयकप्रति पनि चिन्ता व्यक्त गरे । उनले दुई व्यक्तिबिचको टेलिफोन वार्ता समेत सुन्नसक्ने खालको कानुन आउन लागेको भन्दै त्यसको सम्भावित दुरुपयोगप्रति गम्भीर प्रश्न उठाए । उनले प्रविधि र सञ्चारको माध्यमबाट समाजमा आशा र सकारात्मकता फैलाउनुपर्ने धारणा राखे ।