२२ मंसिर २०८२, आईतवार

थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त


थाइल्यान्डमा दुई वर्षमा तेस्रो प्रधानमन्त्री नियुक्त भएका छन् । थाइल्यान्डको संसदले व्यवसायी अनुतिन चार्नविराकुललाई देशको प्रधानमन्त्रीको रूपमा चयन गरेको बीबीसीले जनाएको छ ।

कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि नैतिक उल्लङ्घनको आरोपमा गएको हप्ता थाइल्यान्डको संवैधानिक अदालतले पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको थियो । पेतोङ्तार्न शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाउने पाँचौं थाई प्रधानमन्त्री हुनुहुन्थ्यो ।

भूमजैथाई पार्टीका ५८ वर्षीय अनुतिनलाई वर्तमान प्रतिनिधिसभाका ४ सय ९० मध्ये ३ सय ११ जना सांसदले प्रधानमन्त्री पदमा निर्वाचित गरेका खबरमा उल्लेख छ । तर पछिल्ला वर्षहरूमा अदालती हस्तक्षेप र सैन्य विद्रोहद्वारा धेरै प्रशासनहरूलाई अपदस्थ गरिएको थाइल्यान्डका लागि अनिश्चितता समाप्त नहुन सक्छ ।

अनुतिनको प्रधानमन्त्री पदमा उदयले शिनावात्रा परिवारलाई ठूलो धक्का दिएको विश्लेषण गरिएको छ । शिनावात्रा परिवारले सन् २००१ मा पेतोङ्तार्नका बुबा थाक्सिन प्रधानमन्त्री बनेदेखि थाई राजनीतिमा प्रभुत्व जमाउँदै आएको छ ।