१८ माघ २०८२, शनिबार

रास्वपाको समानुपातिक सूचीमा को-को परे कलाकार ?


काठमाडौं । यसअघिका निर्वाचनमा कलाकारलाई राजनीतिक दलले मानिसहरू जम्मा गर्ने र भोट बटुल्ने माध्यमका रूपमा प्रयोग गर्थे । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि भने बृहत वैकल्पिक शक्तिको रूपमा अगाडि बढ्ने तयारी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले थुप्रै कलाकारलाई समानुपातिक सूचीमा समेटेर महत्त्वपूर्ण सन्देश दिएको छ ।

निर्वाचन आयोगले पुस १३ र १४ गतेलाई समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समय तोकेको थियो । सबैजसो मुख्य दलले सोमबार समानुपातिक उम्मेदवारको सूची बुझाए । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग वार्ता सहमतिमा पुगेपछि मात्रै रास्वपाले ढिलोगरी समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको थियो । जसमा कलाकारहरूलाई उल्लेख्य प्राथमिकता दिइएको छ । सूचीमा गायक, गायिका, अभिनेत्रीदेखि मिस नेपालसम्म छन् ।

मिस नेपाल-२०१९ विजेता अनुष्का श्रेष्ठ रास्वपाको आदिवासी जनजाति महिलातर्फबाट समानुपातिक सूचीमा समेटिएकी छन् । अहिलेसम्म उनी रास्वपामा रहेको कहीँकतै चर्चा थिएन । तर उनको नाम सूचीमा भने समेटिएको छ । श्रेष्ठ मिस नेपाल-२०१९ मा सहभागी हुन अस्ट्रेलियाको बैंकबाट राजीनामा दिएर आएकी थिइन् ।

उनी नेपालको प्रतिनिधित्व गर्दै ‘मिस वर्ल्ड २०१९’ मा पनि सहभागी भएकी थिइन् । जहाँ उनी उत्कृष्ट १२ भित्र पर्दै ‘मिस वर्ल्ड ब्युटी विथ पर्पस’ र ‘मल्टिमिडिया’को उपाधि नेपाल भित्र्याउन सफल भएकी थिइन् । श्रेष्ठ व्यवसायी पनि हुन् । उनी ‘माक्कुसे’ लक्जरी मिठाई ब्रान्डकी सञ्चालक हुन् । यो ब्रान्डले पुष्टकारी, गुँदपाक र कुकिज उत्पादन गर्छ ।

त्रिशला गुरुङ (गायिका)

गायिका त्रिशला गुरुङ पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेकी छन् । उनी उज्यालो नेपाल पार्टीको तर्फबाट यो सूचीमा अटाएकी हुन् । सोमबार रास्वपा र उज्यालो नेपाल पार्टीबिच एकता सहमति भएको थियो, उनी उनेपाको टिमबाट रास्वपाको समानुपातिक सूचीमा परेकी थिइन् । उनी आदिवासी जनजाति महिला सूचीमा परेकी छन् । चिकित्सक समेत रहेकी गुरुङका थुप्रै गीत चर्चित छन् ।

सत्यकला राई (गायिका)

गायिका सत्यकला राई रास्वपाबाट समानुपातिक सूचीमा परेकी छन् । रास्वपाले उनलाई आदिवासी जनजाति महिलातर्फबाट समानुपातिक उम्मेदवारको सूचीमा समेटेको हो । ‘तिमीलाई हङकङ पुर्‍यायो आईडी काडैले’ गीतबाट लोकप्रिय भएकी सत्यकलाका थुप्रै गीत चर्चित छन्  । उनले केही वर्षअघि फिल्म ‘काँडेतार’ समेत निर्माण गरेकी थिइन् ।

रमेश प्रसाईं (गायक)

गायकको रूपमा पनि चिनिएका रमेश प्रसाईंलाई रास्वपाले खसआर्य पुरुषतर्फबाट समानुपातिक उम्मेदवार बनाएको छ । यसअघि कुनै राजनीतिक दलमा नदेखिएका प्रसाईं गायन र विभिन्न राजनीतिक टिप्पणीका कारण चर्चामा रहँदै आएका थिए । लाइभ लोकदोहोरी गायनमा माहिर मानिएका प्रसाईंको लोकदोहोरी गीतका साथै पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत चर्चामा छ । प्रसाई सामाजिक सेवामा पनि सक्रिय रहँदै आएका छन् ।

प्रकाश सपुत (गायक, अभिनेता)

लोकप्रिय गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत रास्वपाको समानुपातिक उम्मेदवार बनेका छन् । दलित पुरुष क्लस्टरबाट समानुपातिक बन्दसूचीको दोस्रो नम्बरमा सपुतको नाम छ । ‘बोलमाया’ र ‘गलबन्दी’ गीतबाट स्थापित भएका सपुतका  ‘सकम्बरी’, ‘मेरो पनि होइन र यो देश’, ‘दमाई महाराज’, ‘बुँझिन मैले’ लगायत गीत लोकप्रिय छन् ।

सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका सपुत फिल्म अभिनेता तथा निर्देशक समेत हुन् । करिब आधा दर्जन फिल्ममा अभिनय गरेका उनले फिल्म ‘बसन्त’ निर्माण तथा निर्देशन गरेका थिए ।

रीमा विश्वकर्मा (अभिनेत्री)

लोकप्रिय प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्मा पनि रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा छिन् । उनी दलित महिला क्लस्टरबाट उम्मेदवार बनेकी हुन् । रीमाले केही समयअघि गठन भएको कुलमान घिसिङ संरक्षकत्वको उज्यालो नेपाल पार्टीबाट राजनीति सुरु गरेकी हुन् । सोमबार उनेपा रास्वपामा समाहित भएसँगै उनी पनि कुलमानको समूहबाट समानुपातिक उम्मेदवार बनेकी हुन् ।

आसिफ शाह (अभिनेता)

अभिनेता तथा निर्माता आसिफ शाह पनि रास्वपाको समानुपातिक उम्मेदवार सूचीमा परेका छन् । उनी मुस्लिम क्लस्टरबाट यो सूचीमा अटाएका हुन् । रियालिटी शो होस्टको रुपमा समेत चिनिएका शाह अभिनित फिल्म ‘जन्ते बाख्रो’ केही समयअघि प्रदर्शनमा आएको थियो । विघटित प्रतिनिधिसभामा आसिफका भाइ तथा फिल्म निर्देशक असिम शाह रास्वपाबाट समानुपातिक सांसद थिए । अबको निर्वाचनमा भने असिम प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी गरिरहेका छन् ।