अर्थमन्त्री रामेश्वर खनालले काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै कीर्तिपुरको डाँडामा बसेर पनि महिनामा तीन लाख रुपैयाँसम्म कमाउन सकिने बताएका छन्। उनले नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघि गरेको उक्त अभिव्यक्ति वास्तविक र व्यवहारिक रहेको स्पष्ट पार्दै सूचना तथा प्रविधि (आईटी) क्षेत्रमार्फत यस्तो आम्दानी सम्भव भएको बताएका हुन्।
अर्थमन्त्रीका अनुसार सरकारले आईटी क्षेत्रलाई सहज बनाउन आवश्यक कानुनी र नीतिगत सुधार गरिरहेको छ। आईटी व्यवसायी र कम्पनीहरूलाई विदेशमा लगानी गर्न प्रोत्साहनस्वरूप २० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा निःशर्त सटही गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए। यसले आईटी क्षेत्रमा सीप र ज्ञान प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग पुग्ने उनको भनाइ छ।
उनले विदेशमा रहेका नेपाली नागरिकहरू स्वदेशमै बसेर पनि उस्तै पारिश्रमिक र प्रकृतिको काम गर्न सक्ने वातावरण तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै सरकारले त्यसतर्फ गृहकार्य गरिरहेको बताए। नेपालबाटै रिमोट वर्कमार्फत विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरूको मागलाई राज्यले अझ गम्भीर रूपमा बुझ्नुपर्ने उनको धारणा छ।
अर्थमन्त्री खनालले आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न अध्यादेशमार्फत कानुन संशोधन गर्नु उपयुक्त नहुने स्पष्ट पार्दै सामान्य नीति तथा नियममा आवश्यक संशोधनको प्रक्रिया अघि बढिरहेको बताए। उनका अनुसार आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावलीमा हालसम्म संशोधन भइसकेको छ।
गगन थापाको भनाइलाई उदाहरण दिँदै उनले भने, “कीर्तिपुरको डाँडामा ल्यापटप बोकेर महिनाको तीन लाख कमाउने भन्ने कुरा कसैलाई अविश्वसनीय लाग्न सक्छ, तर यो वास्तविक कथा हो।” उनले काठमाडौँका चिया पसलहरूमा बसेर रिमोट वर्क गरिरहेका युवाहरूको उदाहरण प्रस्तुत गर्दै नेपालमै बसेर विश्व बजारसँग जोडिन सकिने सम्भावना स्पष्ट भएको बताए।