=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026

रा.स्व.पा मा समानुपातिक विवादःपरिवारवादमा स्पष्ट छौँ


मंगलबार रा.स्व.पा बाट सार्वजनिक गरिएको समानुपातिक नामावलि माथि सामाजिक संजालमा चौतर्फि विवाद उत्पन्न भएपछि बुधबार रास्वपा सभापति रवि लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी कुनै हालतमा नजाने दाबी गरेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

त्यस्तै, आफ्नो पार्टी परिवारवादमा स्पष्ट भएको पनि उनले जिकिर गरे ।

‘रास्वपासँग विधिसँग छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा रास्वपा स्पष्ट छ । विधानले नै दिँदैन,’ लामिछानेले भने, ‘कथमकदाचित यी सबै विधिहरू नाघेर जानु भएछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’

समानुपातिकको बन्दसूचीमा परेका केही व्यक्तिबारे भइरहेको आलोचनाको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

‘पछिल्लो परिस्थितिमा जुन राजनीतिक घटनाक्रमहरू भए, विशेषगरेर हामी नयाँ जसरी एक ठाउँमा उभिएर जाने भनेर छोटो समयमा निर्णय भयो । त्यसले हामीलाई तयारीमा हाम्रो समय नपुगेको जरुर हो,’ लामिछानेले भने, ‘अहिले सार्वजनिक चासोमा आउनुभन्दा अघि नै यो चाहीँ रिभ्यू गर्ने समय हुन्छ भन्नेलाई मध्यनजर गर्दै, किनभने कुलमानजीसँग हामीले अन्तिम समयमा गरेका हौं । किनभने उता सूची बुझाउनु छ, यता हामी सहमति गर्दै थियौं ।’

यस्तै कारणले केही समस्या भएको हुनसक्ने र भएको भए पनि त्यसलाई रिभ्यू गरिने उनले बताए ।

‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।

सो क्रममा अनलाइनखबरले लामिछानेलाई प्रश्न गरेको थियो, ‘क्रमसंख्या त सच्याउनुहोला । नाम नै त्यस्तो पनि छ । तपाईंहरूले रोज्दा नै चर्चामा रहेका, अलि बढी धनाढ्यहरूलाई रोज्नुभएको देखियो नि ? किन त्यस्तो ?’

जवाफमा उनले भनेका छन्, ‘नेपाल राजनीतिक रुपमा जुन अवस्थामा गुज्रिएको छ । त्यसका कारणले समाजका सबै तह, तप्का, पेशा व्यवसायमा रहेका मान्छेहरूको राजनीतिमा अत्यन्तै धेरै चासो रहेको छ । किनभने जुन किसिमको राजनीति देशमा चल्यो, त्यसले राजनीति नगर्ने मान्छेहरूलाई पनि जुर्मुराएको देखिन्छ ।’

हाम्रो देशमा राजनीति दुषित हुँदा यस्तो अवस्थामा धेरै सचेत नागरिकहरू राजनीतिमा जुर्मुराएको उनको भनाइ थियो ।