=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले बिहीबार (पुस १६ गते) गुप्तालाई थुना पुर्जी दिई कारागार पठाउन आदेश दिएको हो ।
गुप्ताले अदालतमा बयान दिँदा आफूमाथि लागेको आरोप झुटो भएको र कसैसँग घुस नलिएको दाबी गरेका थिए । तर, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ ।
अदालतले गुप्तालाई थुनामा पठाउने पहिलो प्रमाण रूपमा अडियो र भिडियोः प्रतिवादीहरूबिच भएको फोन संवादको अडियो रेकर्ड र त्यसको विधि विज्ञान प्रयोगशालाबाट प्राप्त परीक्षण प्रतिवेदन मानेको छ।
दोस्रो प्रमाण गरिमा विकास बैंकको स्टेटमेन्ट, जहाँ यामकुमारी गुरुङको खातामा रकम जम्मा गरिएको र झिकिएको देखिएको छ ।
तेस्रो प्रमाणको रुपमा फोटोलाई प्रमाणको रूपमा लिएको छ । मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरकारी निवासमा रकम गणना गरिएको र गाडीमा राखिएको बेला खिचिएका तस्बिरहरू प्रमाणको रूपमा अदालतले लिएको छ ।
त्यस्तै चौँथो प्रमाणको रुपमा अदालतले प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, रजिता श्रेष्ठ र सुजन कुमार तामाङले गुप्तालाई पठाएका म्यासेजहरूलाई आधार मानेको छ ।
पाँचौँ प्रमाण सह–प्रतिवादीको सुजन कुमार तामाङ लगायतले अख्तियारमा दिएको बयानलाई प्रमाणको रूपमा लिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुप्ता विरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनीमाथि कास्कीको मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा थमौती गराइदिने र खम बहादुर पुनलाई भूमि समस्या समाधान आयोग कास्कीको अध्यक्षमा नियुक्ति गराइदिने आश्वासन दिई घरजग्गा व्यवसायीसँग घुस लिएको आरोप लागेको थियो ।