जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको भारत सरकारले वर्षको अन्त्यमा जारी गरेको आर्थिक मूल्यांकनमा उल्लेख छ । तथापि, भारत सरकारको यस तथ्यांक अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादनको तथ्यांक सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि भारतले यसै वर्ष अर्थात सन् २०२६ मा जापानी अर्थतन्त्रलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।
भारत विश्वको सबैभन्दा द्रुतदरमा बढिरहेको ठुलो अर्थतन्त्रमध्ये एक हो र आगामी दिनमा पनि यो गति कायम हुने देखिन्छ,’ सोमबार अबेर भारतले जारी गरेको सरकारी आर्थिक ब्रिफिङ नोटमा भनिएको छ । ‘४.१८ ट्रिलियन अमेरिकी डलरको जिडिपी मूल्यांकनका साथ भारतले जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । सन् २०३० सम्ममा देशको जिडिपी ७.३ ट्रिलियन अमेरिकी डलरको हुने अनुमान छ । आगामी अढाईदेखि तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बन्ने तयारीमा छ,’ ब्रिफिङमा भनिएको छ ।
आइएमएफले सन् २०२६ का लागि गरेको कुल गार्हस्थ उत्पादन प्रक्षेपणअनुसार भारतको अर्थतन्त्र ४.५१ ट्रिलियन अमेरिकी डलर हुने र जापानको ४.४६ ट्रिलियन अमेरिकी डलर हुने देखाएको छ ।कुल गार्हस्थ उत्पादनका आधारमा जापान र जर्मनीभन्दा अगाडि बन्ने अवस्थामा रहेको भए पनि भारत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा भने ती दुवै मुलुकभन्दा निकै पछाडि छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भने दुई हजार ६९४ अमेरिकी डलर थियो । यो जापानको ३२ हजार ४८७ डलर भन्दा १२ गुणा सानो र जर्मनीको ५६ हजार १०३ डलरभन्दा २० गुणा सानो थियो । यसअघि सन् २०२२ मा आफ्नो पूर्वऔपनिवेशिक शासक बेलायतलाई उछिनेर भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको थियो ।