=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.
जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको भारत सरकारले वर्षको अन्त्यमा जारी गरेको आर्थिक मूल्यांकनमा उल्लेख छ । तथापि, भारत सरकारको यस तथ्यांक अन्तिम वार्षिक कुल गार्हस्थ उत्पादनको तथ्यांक सार्वजनिक भएपछि मात्र पुष्टि हुनेछ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले पनि भारतले यसै वर्ष अर्थात सन् २०२६ मा जापानी अर्थतन्त्रलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ ।
भारत विश्वको सबैभन्दा द्रुतदरमा बढिरहेको ठुलो अर्थतन्त्रमध्ये एक हो र आगामी दिनमा पनि यो गति कायम हुने देखिन्छ,’ सोमबार अबेर भारतले जारी गरेको सरकारी आर्थिक ब्रिफिङ नोटमा भनिएको छ । ‘४.१८ ट्रिलियन अमेरिकी डलरको जिडिपी मूल्यांकनका साथ भारतले जापानलाई उछिनेर विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको छ । सन् २०३० सम्ममा देशको जिडिपी ७.३ ट्रिलियन अमेरिकी डलरको हुने अनुमान छ । आगामी अढाईदेखि तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर तेस्रो ठुलो अर्थतन्त्र बन्ने तयारीमा छ,’ ब्रिफिङमा भनिएको छ ।
आइएमएफले सन् २०२६ का लागि गरेको कुल गार्हस्थ उत्पादन प्रक्षेपणअनुसार भारतको अर्थतन्त्र ४.५१ ट्रिलियन अमेरिकी डलर हुने र जापानको ४.४६ ट्रिलियन अमेरिकी डलर हुने देखाएको छ ।कुल गार्हस्थ उत्पादनका आधारमा जापान र जर्मनीभन्दा अगाडि बन्ने अवस्थामा रहेको भए पनि भारत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा भने ती दुवै मुलुकभन्दा निकै पछाडि छ । विश्व बैंकको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ मा भारतको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भने दुई हजार ६९४ अमेरिकी डलर थियो । यो जापानको ३२ हजार ४८७ डलर भन्दा १२ गुणा सानो र जर्मनीको ५६ हजार १०३ डलरभन्दा २० गुणा सानो थियो । यसअघि सन् २०२२ मा आफ्नो पूर्वऔपनिवेशिक शासक बेलायतलाई उछिनेर भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको थियो ।